काठमाडौं। ललितपुरको लगनखेलस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र’ लाई विस्थापित गरी उक्त जग्गामा जिल्ला अदालत विस्तार गर्ने सरकारी तयारीको कृषि क्षेत्र सम्बद्ध विभिन्न पेसागत संघ–संस्थाले विरोध जनाएका छन्।
नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी संघ र नेपाल फिसरिज टेक्निसियन एसोसिएसनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई गैरजिम्मेवार र आपत्तिजनक भनेका हुन्।
विज्ञप्तिका अनुसार २००६ देखि सञ्चालित यो अस्पतालले काठमाडौं, ललितपुर र भक्तपुरका करिब २ लाखभन्दा बढी कृषक परिवारलाई सेवा दिँदै आएको छ। विशिष्टीकृत पशु चिकित्सा, रोग निदान, कृत्रिम गर्भाधान र मत्स्य प्रवर्द्धनजस्ता सेवा दिने यस्तो महत्वपूर्ण संरचना हटाउनु नीतिगत विचलन भएको दाबी गरिएको छ।
२०५८ मा अस्पतालको जग्गाकै एक भागमा ललितपुर जिल्ला अदालत स्थापना भइसकेको र अहिले बाँकी रहेको संरचनासमेत कब्जा गर्ने नियतले अस्पताललाई पूर्ण रूपमा विस्थापित गर्न खोजिएको भन्दै व्यवसायी र प्राविधिक आक्रोशित भएका छन्।
‘अस्पतालका लागि आवश्यक डिस्पेन्सरी, शल्य कक्ष र भ्याक्सिन स्टोरेजजस्ता संरचना राज्यको ठूलो लगानीमा निर्माण गरिएका हुन्। यिनलाई अन्यत्र सार्नु वैज्ञानिक र आर्थिक दुवै दृष्टिले अनुपयुक्त छ,’ विज्ञप्तिमा उल्लेख छ।