काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपालको कुल वस्तु निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा नेपालको निर्यात ५८.२ प्रतिशतले बढेर ११६ अर्ब ५१ करोड पुगेको हो।
गत वर्षको सोही अवधिमा भने नेपालको निर्यात १६.५ प्रतिशत मात्र बढेको थियो। यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धिदर ३.० प्रतिशत मात्र थियो।
निर्यात र आयात दुवै बढेसँगै व्यापार घाटा पनि चुलिएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६४९ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले मात्र बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ११.१ प्रतिशतभन्दा बढी हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गन्तव्यका आधारमा भारततर्फको निर्यात ८२.७ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले कमी आएको छ। निर्यात भएको वस्तुमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पलको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ।
आयात स्रोतका आधारमा भारतबाट ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले आयात बढेको छ। भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पाट्र्स, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन र दालको आयात घटेको छ।
यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड बराबरको थियो।