काठमाडौं। तीन वर्षअघि सिभिल बैंकलाई हिमालयन बैंकसँग सफल मर्जर गराएर चर्चामा आएका प्रतापजंग पाण्डे वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्ष बनेका छन्। वाणिज्य बैंकभित्र सबैभन्दा अन्तिममा रहेको बैंकलाई हिमालयनसँग मर्जर गरी आफ्ना सेयर सदस्यलाई खुसी तुलाएका पाण्डे त्यो बेला सिभिल बैंकका अध्यक्ष थिए।
पाण्डे अध्यक्ष बनेलगत्तै हिमालयन बैंकसँग मर्जरका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सबै सेयरधनीको चित्त बुझाएर मर्जर गरी हाल पाण्डे हिमालयन बैंकको सञ्चालक समितिका सदस्य छन्।
एयरलाइन्सको समस्या समधान गर्ने जिम्मेवारी
प्रतापजंग पाण्डे व्यवसायिक घरना लोमश ग्रुपका अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्। लोमश ग्रुपले बैंक वित्तिय, सिमेन्ट, बिमा कम्पनी, औषधी उद्योग, जलविद्युत, हेलिकोप्टर सहित विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। ग्रुपअन्तर्गत कैलाश हेलिकोप्टरको नेतृत्व गरिरहेका पाण्डे सन् २०१७ बाट पर्यटन क्षेत्रमा आबद्ध भएका हुन्।
हेलिकोप्टर सञ्चालनमा आएको ९ वर्षमै छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्षमा निर्वाचीत भएका हुन्। योसँगै अब जसरी समस्यामा परिरहेको बैंकलाई सफल अवतरण गराएका थिए। त्यसैगरी वायुसेवा सञ्चालकको समस्या समधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने दायित्व उनको काधमा आइपरेको छ।
एयरलाइन्स र हेलिकोप्टर कम्पनी सञ्चालनमा भोगिरहेको समस्या र नीतिगत समस्याको समधान गर्न अध्यक्ष पाण्डेले नियामक निकाय नेपाल नागरिक उड्डन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग विशेष भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। लामो समयदेखि पहल गर्दा पनि एयरलाइन्सको हवाई भाडा बढाउन सकिएको छैन। प्रत्येक दुई/दुई वर्षमा पुनरावलोकन हुनुपर्ने हवाई भाडा लामो समयदेखि संशोधन हुन सकेको छैन। जहाँ पाण्डेले सरकारसँग सहजिकरण गरेर हवाई भाडा समायोजनमा ठूलो भूमिका निर्वाह गर्नुपर्ने दायित्व आएको छ।
पछिल्लो समय नेपालमा सञ्चालित एयरलाइन्स तथा हेलिकोप्टर कम्पनी गहिरो संकटमा पर्दै गएको विश्लेषण हुन थालेको छ। कोभिड–१९ महामारीपछि ओरालो लागेको हवाई उड्डयन व्यवसाय चालु आर्थिक मन्दीका कारण झनै थलिएको छ। संकटका बेला सरकारले राहत र सहजीकरण गर्नुपर्नेमा उल्टै जहाज खरिददेखि हवाई टिकटसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर व्यवसायमाथि थप बोझ थपेको व्यवसायीको गुनासो छ। यही कारण नयाँ जहाज खरिदमा निजी क्षेत्रको चासो घट्दै गएको छ।
डलरको मूल्य आकाशिएको अवस्थामा पनि पछिल्लो सात वर्षदेखि हवाई भाडा पुनरवलोकन हुन नसक्नु अर्को ठूलो चुनौती बनेको छ।
डलरको मूल्य आकाशिएको अवस्थामा पनि पछिल्लो सात वर्षदेखि हवाई भाडा पुनरवलोकन हुन नसक्नु अर्को ठूलो चुनौती बनेको छ। एयरलाइन्सका अधिकांश खर्च डलरमा भुक्तानी गर्नुपर्ने भए पनि त्यसको समायोजन भाडामा गर्न नपाउँदा घाटा बढ्दै गएको तर्क व्यवसायीहरुको छ।
यसअघि वायुसेवा सञ्चालक संघ र नियामक प्राधिकरणबीच समन्वय कमजोर हुँदा व्यवसायीहरूले आफ्ना समस्या सरकारसम्म प्रभावकारी रूपमा र्पुयाउन नसकेको अवस्था थियो। नयाँ लगानी नआउनु उड्डयन क्षेत्रको अर्को गम्भीर समस्या बनेको छ। हेलिकोप्टर क्षेत्रबाहेक दुर्गम तथा सुगम दुवै क्षेत्रमा उडान गर्ने नयाँ जहाज थपिन सकेका छैनन। जहाज खरिदमै भ्याट लगाइँदा लगानी सुरक्षित नहुने अवस्था बनेको भन्दै व्यवसायीहरूले सरकारको नीतिप्रति असन्तुष्टि जनाएका छन।
हवाई भाडा पुनरवलोकन नहुनुले पनि एयरलाइन्सलाई थप दबाबमा पारेको छ। सात वर्षयता डलरको मूल्य करिब ३० प्रतिशतले बढेको छ भने जहाज मर्मत, तालिम, इन्धन तथा अन्य सेवा शुल्कमा उल्लेख्य वृद्धि भएको छ। यति हुँदाहुँदै पनि सरकारले निर्धारण गरेको भाडादरमै टिकट बेच्न बाध्य हुँदा एयरलाइन्स ‘जसोतसो बाँच्ने’ अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन्।
अर्कोतर्फ, हवाई नीति पुनर्लेखनको आवश्यकता पनि तीव्र रूपमा उठ्न थालेको छ। वर्तमान अवस्थामा उड्डयन क्षेत्र पर्यटनसँग जोडिने कि यातायात सेवाका रूपमा हेर्ने भन्ने स्पष्ट नीतिगत दिशानिर्देश आवश्यक भएको व्यवसायीहरूको धारणा छ। आगामी १० वर्षमा हवाई यात्रुको संख्या, आवश्यक विमानस्थल र पूर्वाधारको आकलन गरेर दीर्घकालीन हवाई नीति ल्याउन सरकार अघि बढ्नुपर्ने सुझाव व्यवसायीको छ। अब यी समस्या समधान गरेर वायुसेवा कम्पनीहरुलाई सफल उडान भर्न सहजिकरण गर्ने जिम्मेवारी अध्यक्ष पाण्डेको काधमा आएको छ।