काठमाडौं। खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन। यसबाट उपभोक्ता समस्यामा परेका छन्।
संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ। कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन्। जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई करोड ५० लाख लिटर पानीको माग छ। कार्यालयले अहिले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको कार्यालय प्रमुख विष्णुदेव साहले बताए।
राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार जनकपुरधाममा ४० हजार ४०९ परिवार रहेकामा करिब पाँच हजार घरमा खानेपानीको मिटर जडान गरिएको छ। जडान गरिएकामध्ये ४० प्रतिशत जति घरमा आंशिक रूपमा मात्र पानी आउने गरेको छ । जनकपुरधाममा घरपरिवारको सङ्ख्या पनि बढ्दै गएको छ।
अहिले कार्यालयले वडा नं १० तथा रामानन्द चोकमा निर्माण भएको चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा ६ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको कार्यालय प्रमुख साहले बताए। तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुटेका, चर्केका तथा जीर्ण भएकाले पानी वितरणमा समस्या हुने गरेको उनको भनाइ छ।
“सीमित बजेटका कारण पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति गर्न समस्या भएको छ”, प्रमुख साहले भने। जीर्ण पाइपका कारण ५० प्रतिशतमात्र नियमित रूपमा पानी आपूर्ति हुने गरेको छ। सो कार्यालयले गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्यबराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म ६ लेन सडक किनारमा सात किलोमिटर लामो सडकको दायँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याउने कार्य गरेको छ।
सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण हुने तथा धारा जडान हुने कार्य भइरहेको कार्यालय प्रमुख साहले बताए। पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कर्मचारीको गुनासो छ। यहाँ अधिकांश घरमा चापाकल तथा मोटर जडान गरेर खानेपानीको समाधानको प्रयास भइरहको छ।