काठमाडौं। अमेरिका-इसराइल र इरानबीच चर्किदै गएको द्वन्द्वका कारण मध्यपूर्वी हवाइ क्षेत्र प्रभावित हुँदा त्यसको असर नेपालसम्म आइपुगेको छ। शनिबार मात्रै नेपालका १८ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्, जसबाट करिब तीन हजार यात्रु प्रभावित भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले खाडी मुलुकतर्फ जाने तथा त्यहाँबाट आउने उडानहरू बढी प्रभावित भएको बताए। हवाइ मार्ग असुरक्षित बन्दै जाँदा विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरू अस्थायी रूपमा बन्द भएपछि उडान रद्द गर्नु परेको उनले जानकारी दिए।
प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सका काठमाडौंबाट दमाम, दोहा र दुबईका लागि तय गरिएका तीन वटा उडान रद्द भएका छन्। यी उडानमार्फत यात्रा गर्न लागेका करिब ५०० यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन।
त्यस्तै कतार एयरवेजको चार वटा उडान रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका छन। फ्लाई दुबईका चार उडान रद्द हुँदा करिब ६०० यात्रु समस्यामा परेका छन।
यसैगरी एयर अरेबियामार्फते शारजाह जाने दुई उडानका करिब ३०० यात्रु प्रभावित भएका छन भने हिमायल एयरलाइन्समार्फत दमामतर्फका तीन उडान रद्द हुँदा करिब ५०० यात्रु अलपत्र परेका छन। कुवेत जाने दुई उडानका झन्डै ३०० यात्रु समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी तथा साउदी अरेबियाका दमाम र रियादका विमानस्थलहरू प्रभावित हुँदा आइतबार पनि उडानहरू नचल्ने सम्भावना उच्च रहेको छ। आइतबार करिब १४ वटा उडान थप रद्द हुन सक्ने अनुमान गरिएको छ।