काठमाडौं। चितवनमा निर्माणाधीन र सञ्चालनमा रहेको मुनाल एण्ड मयुर वेलनेस रिट्रिट होटलको क्रेडिट रेटिङमा गिरावट आएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीले आवश्यक सूचना उपलब्ध नगराएको र असहयोग गरेको भन्दै रेटिङ घटाएको हो।
इन्फोमेरिक्सका अनुसार कम्पनीको कुल ५५ करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाको रेटिङलाई ‘इस्युअर नट कोअपरेटिङ’ अर्थात् ‘असहयोग गर्ने संस्था’को वर्गमा राखिएको छ। योसँगै कम्पनीको रेटिङ फिर्ता लिने सूचनासमेत इन्फोमेरिक्सले जारी गरिएको छ।
रेटिङ रिपोर्टअनुसार कम्पनीको ५४ करोड ३७ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाको रेटिङ डबल बी माइनसबाट घटाएर सिंगल बी प्लस र इस्युअर नट को अपरेटिङ कायम गरिएको छ। त्यस्तै, ६३ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाको रेटिङ ‘ए फोरबाट हटाइएको छ।
इन्फोमेरिक्सले बारम्बार पत्राचार र फोनमार्फत आवश्यक वित्तीय विवरण र तथ्यांकहरू माग गर्दा पनि कम्पनी व्यवस्थापनले उपलब्ध नगराएपछि रेटिङ घटाइएको हो। ‘हामीले पटक/टक इमेल र फोनमार्फत आवश्यक विवरण मागेका थियौं, तर व्यवस्थापनबाट कुनै सहयोग प्राप्त भएन,’ इन्फोमेरिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रेटिङ एजेन्सीले बैंक, वित्तीय संस्था र लगानीकर्तालाई यो रेटिङ प्रयोग गर्दा विशेष सावधानी अपनाउन सल्लाह दिएको छ।
पर्याप्त जानकारीको अभावमा कम्पनीको क्रेडिट जोखिम विश्लेषण गर्न नसकिएको र यसले लगानीकर्ता तथा ऋणदातामा अनिश्चितता सिर्जना गर्ने इन्फोमेरिक्सको ठहर छ। पर्याप्त सूचना नभएको अवस्थामा नेपाल धितोपत्र बोर्डको निर्देशिका बमोजिम उपलब्ध भएसम्मको उत्कृष्ट जानकारीका आधारमा यो रेटिङ प्रदान गरिएको हो। रेटिङ एजेन्सीले बैंक, वित्तीय संस्था र लगानीकर्तालाई यो रेटिङ प्रयोग गर्दा विशेष सावधानी अपनाउन सल्लाह दिएको छ।
कुनै पनि व्यवसायिक संस्थाका लागि रेटिङ ऐजेन्सीको रेटिङ इस्युअर नट कोअपरेटिङ श्रेणीमा पर्नु र श्रेणी घट्नु कुनै पनि व्यावसायिक संस्थाका लागि नकारात्मक सूचक हो। यसले कम्पनीको वित्तीय पारदर्शीतामा प्रश्न उठाउने मात्र नभई बैंकबाट थप ऋण लिन वा मौजुदा ऋणको नवीकरण गर्न कठिनाइ उत्पन्न गराउन सक्छ। कम्पनीले आवश्यक तथ्यांक उपलब्ध नगराउँदासम्म उसको वास्तविक वित्तीय अवस्था र ऋण तिर्न सक्ने क्षमतामाथि प्रश्न चिन्ह लागिरहने देखिन्छ।
चितवनमा अवस्थित मुनाल एण्ड मयुर मेडिकल वेलनेस रिट्रिट ब्राण्ड नाममा सञ्चालन हुन लागेको यो होटल ३६ वटा कोठासहितको रिसोर्ट हो। यसमा सात वटा कोठा भिल्लाको रूपमा रहेका छन्। सन् २०१९ सेप्टेम्बर ४ मा दर्ता भएको यो होटलले सन् २०२४ जुनदेखि २६ वटा कोठाबाट आंशिक सञ्चालन सुरु गरिसकेको छ।
बाँकी निर्माण कार्य सम्पन्न गरी सन् २०२५ सेप्टेम्बरसम्ममा होटललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। कम्पनीको ७५ प्रतिशत सेयर मुख्य प्रवद्र्धक लाक्पा ढुण्डुप लामाको नाममा रहेको छ।