काठमाडौं। कृषि जैविक विविधता दिवसको अवसरमा रैथाने परिकारको करिब ५० लाख कारोबार हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपको बगैँचा परिसरमा माघ १ गते लाग्ने एक दिने मेलामा रैथाने बाली तथा परिकारको ३० देखि ५० लाख रुपैयाँको कारोबार हुने भएको छ।
सरकारले 'कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास् संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता' भन्ने मूल नारासहित चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ माघको पहिलो हप्ताभर देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।
माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस र माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहका रूपमा मनाउने भएको हो। मेलामा देशभरका किसानका ८० बढी स्टल रहने छ। रैथाने परिकार राखिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले बताए।
यहाँ करिब १० देखि १५ हजार जनाले मेला अवलोकन गर्ने अनुमान गरेका छन्। कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षाको आधार मात्र नभई गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधारका रुपमा रहेको छ।
नेपालको संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च प्राथमिकता दिएको छ भने संघ, प्रदेश र स्थानीय तहको साझा भूमिकालाई स्पष्ट गरेको छ। नेपाल जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्रसमेत हो।
हाल नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रबाट कृषि जैविक विविधताको पर-स्थानीय संरक्षण तथा बाली प्रजननमा उपयोगको काम हुँदै आएको छ। यस्तै कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रमार्फत स्व-स्थानीय संरक्षण, रैथाने बाली प्रवर्द्धन, सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। बीउ बिजन ऐन, २०८१ ले रैथाने तथा स्थानीय बालीका जात दर्तालाई सहजीकरण गर्ने विशेष व्यवस्था गरेको छ।
नेपाल जैविक विविधतामा धनी मुलुकमध्ये पर्दछ। विश्वका जैविक विविधतामा धनी राष्ट्रमध्ये नेपाल ४९औँ स्थानमा रहेको छ। नेपालमा करिब २४ हजार जीवित प्रजाति रहेको अनुमान छ, जसमध्ये करिब एक तिहाइ कृषि क्षेत्रसँग सम्बन्धित छन्। तर जलवायु परिवर्तन र आधुनिक खेती प्रणालीका नकारात्मक प्रभावका कारण कृषि जैविक विविधतासहित समग्र जैविक विविधता तीव्र रुपमा ह्रास हुँदै गएको सरोकारवालाको भनाइ छ। अनुमान अनुसार नेपालका कृषि आनुवांशिक स्रोतहरूमध्ये करिब ४० प्रतिशत लोप भइसकेको हुन सक्ने अवस्था छ।
कृषि जैविक विविधतासँग जोडिएका सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा भए पनि ती पक्षको अपेक्षित प्रचार प्रसार हुन नसकेको देखिन्छ। यस अवस्थालाई मध्यनजर गर्दै सरकारले वि.सं. २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षका रूपमा मनाएको थियो। साथै मन्त्रीपरिषद्को २०७९-०५-२७ को निर्णयअनुसार हरेक वर्ष माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालिएको हो।
यस दिवस तथा सप्ताहले परम्परागत कृषि प्रणाली, रैथाने बाली, स्थानीय खाद्य परिकार र सीपको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। ।