काठमाडौं। कोशी प्रदेशको राजधानी विराटनगरमा निर्माणाधीन पाँचतारे होटल ‘एक्सिस हस्पिटालिटी’ सञ्चालनमा नआउँदै गम्भीर वित्तीय र प्रशासनिक संकटमा फसेको छ। आयोजनाका लागि बैंकहरूबाट स्वीकृत साढे २ अर्ब रुपैयाँभन्दा बढीको ऋण जोखिममा परेपछि रेटिङ एजेन्सीले यसको साख घटाउँदै कम्पनीलाई संकटको सूचीमा राखेको हो।
एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एक्सिस हस्पिटालिटीको कुल २ अर्ब २१ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको बैंक ऋण सुविधाहरूको रेटिङमा घटाउँदै कम्पनीलाई ‘इसुअर नट कोअपरेटिङ’को सूचीमा राखेको छ। साथै, भविष्यमा हाल दिइएको रेटिङ फिर्ता लिन सक्ने चेतावनीसमेत इन्फोमेरिक्सले दिएको छ। इन्फोमेरिक्सले कम्पनीको ऋणको रेटिङ घटाएपछि आयोजनाको भविष्यमाथि प्रश्न चिह्न खडा भएको हो।
लामो समयदेखि निर्माणाधीन रहेको र सञ्चालनको लक्ष्य पटक–पटक सर्दै गएको यस आयोजनाले रेटिङ एजेन्सीलाई आवश्यक वित्तीय विवरण र सूचना उपलब्ध नगराउनुलाई वित्तीय क्षेत्रले ‘खतराको घण्टी’ का रूपमा लिएको छ। इन्फोमेरिक्सका अनुसार एक्सिस हस्पिटालिटीले उपयोग गरिरहेको २ अर्ब १५ करोड ६९ लाख ५० हजार रुपैयाँको दीर्घकालीन बैंक ऋणको रेटिङ सिंगल बीबाट घटाएर सिंगल बी माइनस, इसुअर नट कोअपरेटिङ कायम गरिएको छ।
इन्फोमेरिक्सले रेटिङहरूलाई ‘फिर्ता लिने सूचना’समेत जारी गरेको छ। कम्पनीले भविष्यमा आफ्नो वित्तीय अवस्था पारदर्शी नबनाएमा एजेन्सीले यसको जोखिम भार वहन गर्ने जिम्मेवारीबाट हात झिक्नेछ। रेटिङमा आएको यो गिरावटले कम्पनीको ऋण तिर्न सक्ने क्षमता कमजोर हुँदै गएको र लगानीकर्ताको जोखिम बढेको संकेत गर्दछ।
विजय कुमार चौधरीले सन् २०२१ मार्चमा कोशी प्रदेशको बिराटनगरमा कुल साढे ३ अर्ब रुपैयाँ लागतमा पाँचतारे होटलको निर्माण शुरु गरेका थिए। कुल ३ अर्ब ५५ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ६२ः३८ को ऋण पुँजी अनुपात तय गरिएको थियो। होटलमा ९९.८८ प्रतिशत सेयर स्वामित्व विजय कुमार चौधरीको छ।
उनले होटलको निर्माण शुरु भएको ४ वर्षसम्म पनि ३८ प्रतिशत १ अर्ब ३५ करोडको १४ प्रतिशतमात्रै आफ्नो खल्तीबाट पुँजी हालेका छन्। बैंकहरूले ऋण प्रवाह गर्दा सामान्यतया ‘पहिले इक्विटी, त्यसपछि ऋणको नीति लिन्छन्। यस आयोजनामा चौधरीले आफ्नोतर्फबाट हाल्नुपर्ने पैसा समयमै हाल्न नसक्दा र सूचना लुकाउँदा समस्या भएको हो।
प्रवर्द्धकको लगानी समयमै नआउँदा र बैंकको ऋणमा मात्र भर पर्दा आयोजनाको भौतिक प्रगति हालसम्म करिब ८ प्रतिशत मात्रै देखिएको छ। सन् २०२७ सम्ममा होटल सञ्चालनमा ल्याउने दाबी गरिए पनि हालको सुस्त गति र वित्तीय अस्पष्टताले आयोजना ‘सेतो हात्ती’ बन्ने खतरा बढेको छ। विराटनगरमा ११५ वटा अत्याधुनिक कोठासहितको पाँचतारे होटल बनाउने लक्ष्य राखेका विजय चौधरीले होटलमा डिलक्स, सुइट र भिल्ला जस्ता सुविधाहरू रहने भनेका थिए।
होटलमा क्यासिनो, इन्फिनिटी पुल, र रुफटप रेस्टुरेन्ट जस्ता महत्वाकांक्षी योजनाहरू उनले राखेका थिए। साढे २ अर्बभन्दा बढीको लगानी भइसकेको भनिएको यो परियोजना सञ्चालनमा नआउँदै ‘असहयोगी’ को सूचीमा पर्नुले बैंकहरूको ऋण असुलीमा समेत चुनौती थपिने देखिएको छ।
रेटिङ एजेन्सीले एक्सिस हस्पिटालिटीको साख कमजोर भएको निष्कर्ष निकाल्दै यससँग आबद्ध बैंक, वित्तीय संस्था र सम्भावित लगानीकर्ताहरूलाई ‘उच्च सतर्कता’ अपनाउन सुझाव दिएको छ। सूचनाको अभावले गर्दा यो रेटिङले कम्पनीको वास्तविक क्रेडिट जोखिमलाई पूर्ण रूपमा प्रतिविम्बित नगर्न सक्ने इन्फोमेरिक्सको ठहर छ।
सूचनाको अभावले गर्दा कम्पनीको वास्तविक ऋण भार र नगद प्रवाहको अवस्थामा बैंकहरु अनविज्ञ छन्। यदि, प्रवर्द्धकले तत्काल थप पुँजी लगानी नगर्ने र बैंकलाई वित्तीय विवरण उपलब्ध नगराउने हो भने बैंकहरूले थप ऋण निकासा रोक्न सक्नेछन्। यसले गर्दा निर्माणाधीन संरचना अलपत्र पर्ने र बैंकहरूको अर्बौँ रुपैयाँ खराब कर्जा (एनपिएल)मा परिणत हुने जोखिम बढेको छ।