काठमाडौं। नेपालको धितोपत्र बोर्डले ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’ कार्यान्यवनको तयारी गरेको छ। बजारमा हुन सक्ने प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न र लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यान्यवनका लागि बोर्डले सरोकारवालासँग छलफल गरेको हो।
बोर्डको कार्यालयमा आयोजित उक्त बैठकमा धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेर घनिभूत छलफल भएको थियो। बैठकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सेटलमेन्ट ग्यारेन्टी फन्ड धितोपत्र बजारको यस्तो संयन्त्र हो, जसले कुनै पक्षले सेयर खरिद बिक्रीपछिको राफसाफमा डिफल्ट (भुक्तानी गर्न नसक्ने अवस्था) गरेमा त्यसको ग्यारेन्टी लिन्छ। यसले गर्दा बजारमा सेयर बेच्नेले पैसा र किन्नेले सेयर समयमै पाउने सुनिश्चितता हुन्छ।
बैठकमा यस कोषको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया र यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अपनाउनुपर्ने कार्य योजनाका बारेमा विस्तृत छलफल भएको थियो। बोर्डले यो कोष कार्यान्वयनका लागि स्पष्ट समय सीमासहितको कार्ययोजना तयार पारी अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ।
बैठकको मुख्य उद्देश्य नै बजारमा देखिन सक्ने जोखिमलाई व्यवस्थापन गर्नु रहेको थियो। धितोपत्र बजारमा कारोबार रकम र लगानीकर्ताको संख्या बढ्दै जाँदा प्रणालीगत जोखिम पनि बढ्ने सम्भावना रहन्छ। सरोकारवालाले डिफल्ट व्यवस्थापन र यसमा सम्बन्धित निकाय एवं धितोपत्र व्यवसायीको भूमिकाबारे आ-आफ्नो धारणा राखेका थिए।
कोषको प्रभावकारी कार्यान्वयनले लगानीकर्ताहरूमा ‘हाम्रो लगानी र राफसाफ सुरक्षित छ’ भन्ने विश्वास बढाउने र यसले अन्ततः बजारको आयतन बढाउन मद्दत पुग्ने सहभागीहरूको निष्कर्ष थियो।
बैठकमा नेप्से र सीडीएससीले कोष कार्यान्वयनका लागि आवश्यक पर्ने प्राविधिक प्रणाली र क्लियरिङसम्बन्धी आफ्नो तयारीबारे प्रस्तुतीकरण दिएका थिए। ती निकायहरूले हालको प्रणालीमा के- कस्ता सुधारहरू गरेर सेटलमेन्ट ग्यारेन्टी फन्डलाई जोड्न सकिन्छ भन्ने प्राविधिक पक्षहरू प्रष्ट पारेका थिए।
त्यसैगरी, स्टक ब्रोकर्स एशोसिएशनले बजार सञ्चालनको आफ्नो व्यवहारिक अनुभवका आधारमा विभिन्न महत्वपूर्ण सुझावहरू प्रदान गरेको थियो। ब्रोकरहरूले कोषको योगदानको ढाँचा, परिचालन विधि र यसले बजारको तरलतामा पार्न सक्ने प्रभावका बारेमा चासो व्यक्त गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिएका थिए।
कोषको कार्यान्वयनसँगै नेपाली धितोपत्र बजार अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र विश्वसनीय बजारको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। आगामी दिनमा नियामक बोर्ड, बजार सञ्चालक नेप्से, सीडीएससी र मध्यस्थकर्ता ब्रोकरहरूबीचको यो समन्वयले धितोपत्र बजारको आधुनिकिकरणमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ।