काठमाडौं। सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बलेफी-ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको बलेफी हाइड्रोपावर लिमिटेडको व्यापारमा सामान्य गिरावट आएको छ। सन् २०२५ (आर्थिक वर्ष २०८१/८२)मा कम्पनीले ८३ करोड रुपैयाँको व्यापार गरेको छ।
जबकी, अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले ८४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। चालू वर्ष (सन् २०२६) पहिलो त्रैमासमा कम्पनीले ३४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
आम्दानीमा सामान्य गिरावट आए पनि कम्पनीले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गरेपछि यसको वित्तीय जोखिम भने कम भएको इन्फोमेरिक्सको रेटिङ रिपोर्टले देखाएको छ। इन्फोमेरिक्सले कम्पनीको कुल ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङलाई पुनः पुष्टि गरेको छ।
कम्पनीले उपयोग गरिरहेको ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बि माइनस’ र १० करोड रुपैयाँको अल्पकालीन ऋणका लागि ‘एफोर’ रेटिङ प्रदान गरिएको छ। यसअघि ‘क्रेडिट वाच’मा रहेको यो कम्पनीलाई अहिले उक्त सूचीबाट हटाएर सामान्य अवस्थामा राखिएको छ।
आयोजनामा आएको प्राविधिक समस्या र मेसिनरी ब्रेकडाउनका कारण कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई ठूलो रकम जरिवाना बुझाउनु परेको छ। सम्झौताअनुसार कुल ऊर्जाको ८० प्रतिशत विद्युत आपूर्ति गर्न नसकेका कारण सन् २०२५ मा कम्पनीले २ करोड ३३ लाख ८० हजार रुपैयाँ जरिवाना तिरेको छ। सन् २०२४ मा यस्तो जरिवाना ४ करोड ९९ लाख रुपैयाँ रहेको थियो। मेसिनरी समस्या र पानीको बहाव कम भएकाले विद्युत उत्पादन लक्ष्यअनुसार हुन नसक्दा कम्पनीले जरिवाना खेप्नुपरेको हो।
यद्यपि, कम्पनी व्यवस्थापनले ‘फोर्स मेजर’ अर्थात् काबु बाहिरको परिस्थितिका कारण उत्पादन घटेको भन्दै उक्त जरिवाना रकम प्राधिकरणबाट फिर्ता हुने अपेक्षा गरेको छ। सन् २०२६ को सुरुवाती महिनाहरूमा केही रकम फिर्तासमेत भइसकेको रिपोर्टमा उल्लेख छ ।
बलेफी हाइड्रोपावरको सबैभन्दा सकारात्मक पक्ष यसको सुध्रिएको पुँजी संरचना हो। कम्पनीले सफल रूपमा हकप्रद सेयर जारी गरेपछि ऋण र स्वपुँजीको अनुपातमा व्यापक सुधार आएको छ। सन् २०२४ मा ७.५१ गुणा रहेको यस्तो अनुपात सन् २०२५ मा घटेर २.१२ गुणामा झरेको छ। यसले कम्पनीको वित्तीय जोखिमलाई निकै कम गरिदिएको छ।
तर, उच्च ब्याजदर र ह्रासकट्टी खर्चका कारण कम्पनी अझै पनि खुद नोक्सानीमा रहेको छ। कम्पनीको सञ्चालन मुनाफा सन् २०२४ मा ७५.९४ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ६१.३० प्रतिशत पुगेको छ। मर्मत सम्भार खर्च बढ्दा नाफाको मार्जिनमा चाप परेको हो।
सिन्धुपाल्चोकमा अवस्थित ३६ मेगावाटको यो आयोजनाले सन् २०२२ नोभेम्बर २२ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। आयोजनाको विद्युत खरिद सम्झौता ३० वर्षका लागि गरिएको छ, जसले दीर्घकालीन आम्दानीको सुनिश्चितता गर्दछ।
कम्पनीको नेतृत्व अध्यक्ष विदुर पुरीले गरिरहेको छ। जोसँग उत्पादन र सेवा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ। पुरी शंकर ग्रुपमा ‘कर्पोरेट म्यानेजर’को रूपमा कार्यरत छन्। साथै, कम्पनीको सीईओ सुवास अर्याल र मुख्य लगानीकर्तामा सुशील गुप्ता, प्रभा गोयन्का, भीमसारिया, सन्दीप कुमार शारदा र बच्चु पौडेल रहेका छन्।