काठमाडौं । निजी क्षेत्रबाट सबैभन्दा बढी लगानी भएको उत्पादनमुलक औद्योगिक क्षेत्रको नाफा अन्य क्षेत्रको भन्दा धेरै कम देखिएको छ । उत्पादनमुलक क्षेत्रको नाफा १४.७ प्रतिशत रहेको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।
विभागकाअनुसार यो आर्थिक क्षेत्रको सबैभन्दा कम नाफा हुने क्षेत्र हो । सबैभन्दा बढी नाफा कृषि क्षेत्रको छ । कृषिको नाफा ५५.७ प्रतिशत रहेको विभागको राष्ट्रिय आर्थिक गणना २०१८ (अद्यावधिक २०२०)ले देखाएको हो ।
आर्थिक गणनाले विभिन्न १८ क्षेत्रको नाफाको समग्र अवस्था विश्लेषण गरेको छ । यी क्षेत्रको औसत नाफा २९.३ प्रतिशत छ । कुल २९ खर्ब १५ अर्ब ६० करोड रुपैयाँको कारोबार हुँदा ८ खर्ब ५३ अर्ब २१ करोड रुपैयाँ नाफा भएको आर्थिक गणनामा उल्लेख छ ।
आर्थिक गणनाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।
विभागले ९ लाख ९३४ व्यवसायिक संस्थाको कारोबार देखाएको छ । डेढ दर्जन व्यवसायिक क्षेत्रमा ३१ लाख १५ हजार ११२ जना संलग्न छन । कृषिपछि बढी नाफा हुने क्षेत्रमा शिक्षा परेको ।
शिक्षाको नाफा ४६.१, सवारीसाधानको ४३, वित्तीय क्षेत्रको ४०.५, रियलस्टेटको ४०.९ र खानीको ४२.२ प्रतिशत रहेको छ । यसैगरी निर्माणको २३.६, ऊर्जा तथा ग्यासको १९.७, स्वास्थ्य तथा सामाजिक क्षेत्रको २९.२, सूचना प्रविधिको २३.४, खाद्यन्नको १५.६ प्रतिशत रहेको छ । उत्पादनमुलक क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान घटेर ५ प्रतिशतमा सीमित भएको छ ।