काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाललाई अल्पकालीन निर्णयभन्दा दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर बालेनले नेपालको विकास भन्नाले सडक र भवनजस्ता भौतिक संरचना मात्र नभई सुरक्षित संरचना र उदार समाज निर्माण गर्नु पनि हो भन्ने तर्क गरेका छन्।
स्ट्रक्चरल इन्जिनियरको हैसियतमा आफ्नो अनुभव साझा गर्दै उनले भने, "देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।"
२०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा काम गरेको अनुभव समेत सुनाउँदै बालेनले काभ्रेमा मात्रै करिब २५०० घर निर्माण गरेको उल्लेख गरे। गोरखालगायत देशका ३५ भन्दा बढी जिल्लामा इन्जिनियरिङ कार्यमा संलग्न भएको उनको भनाइ छ।
"नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन," उनले भने, "भौगोलिक भू-बनोटसँगै विविधतायुक्त समाजलाई माथि उकास्न सबै पाटोलाई सँगसँगै उठाएर काम गर्नुपर्छ।" मेयर बालेनले स्ट्रक्चरल इन्जिनियरिङको अध्ययनका लागि भारत गएको र त्यसपछि सुविधासम्पन्न देशमा बस्ने अवसर भए पनि नेपाल फर्कने निर्णय गरेको खुलाएका छन्।
"आज, नागरिकको विश्वासका कारण महानगरको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौं," उनले भने। महानगरबाट सुरु भएका सुधार र अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको धारणा छ। सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता तथा जिम्मेवार नीति आवश्यक रहेको उनले जोड दिएका छन्।