काठमाडौं। सन् २०२५ मा नेपालका आन्तरिक विमानस्थलमध्ये पोखरा विमानस्थल काठमाडौंबाहिर सबैभन्दा धेरै यात्रु आवागमन हुने विमानस्थल बनेको छ। नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरामा एक वर्षमा ८ लाख ८६ हजार ७ सय ८४ यात्रुको आवागमन भएको छ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आन्तरिक हवाई यात्रुको संख्या निरन्तर बढ्दो क्रममा छ। उनका अनुसार पोखरा, लुक्ला, भैरहवा, विराटनगर र नेपालगञ्जजस्ता विमानस्थलमा दुवैतर्फ यात्रुको चाप उच्च देखिएको छ।
तथ्यांकअनुसार पोखरामा ४ लाख २७ हजार ४ सय १४ यात्रु भित्रिएका थिए भने ४ लाख ५९ हजार ३ सय ७० यात्रु बाहिरिएका थिए। यात्रु संख्याका आधारमा विराटनगर दोस्रो स्थानमा रहँदै ७ लाख ३५ हजार ५ सय २५ यात्रुको आवागमन भएको छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ७ लाख २९ हजार ९७, नेपालगन्जमा ५ लाख ३५ हजार ९ सय २० र चन्द्रगढीमा ३ लाख ९५ हजार ३८ यात्रुले यात्रा गरेका छन्।
यी पाँच विमानस्थलले देशको आन्तरिक हवाई यात्रुको ठूलो हिस्सा धानेका छन्, जसले क्षेत्रीय व्यापार, पर्यटन र आवागमनको माग निरन्तर बढिरहेको संकेत गर्छ।
उडान संख्याका आधारमा भने सन् २०२५ मा लुक्ला ९तेन्जिङ–हिलारी० विमानस्थल शीर्षस्थानमा रह्यो। यहाँ कुल ३३ हजार ४ सय २० उडान सञ्चालन भए। त्यसपछि पोखरामा २६ हजार ७ सय ८२, नेपालगञ्जमा १३ हजार ४ सय ३४, गौतमबुद्ध विमानस्थलमा ११ हजार ९ सय ३१ र विराटनगरमा ११ हजार ६ सय ९२ उडान भएका छन्।
यद्यपि, दुर्गम क्षेत्रका विमानस्थलहरूमा यात्रु र उडान दुवै न्यून नै छन्। इलामको सुकिलुम्बा विमानस्थलमा वर्षभरिमा १२ उडानमार्फत ८७ यात्रु मात्रै आवागमन गरेका छन्। सुदूरपश्चिमको बझाङमा १४ उडानमा १ सय २७ यात्रु, अछामको साँफेबगरमा ८० उडानमा ३ सय ८० यात्रु, रुम्जाटारमा ९८ उडानमा ६ सय ३८ तथा थामखर्कमा ९८ उडानमा ६ सय ३३ यात्रु आवागमन भएको क्यानले जनाएको छ।