काठमाडाैं। घ्याङलेख गाउँपालिकामा भएको एसबिआई बैंक लुटपाट प्रकरणमा संलग्न सातै जना अभियुक्त पक्राउ परेका छन्। पुस २९ गते राति करिब साढे सात बजे भएको यस लुटपाटमा बैंक रहेको भवनको घरधनी नै मुख्य योजनाकारको रूपमा संलग्न रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले दिएको जानकारी अनुसार प्रहरीले दुई करोड ६८ लाख ५५ हजार एक सय ७५ रुपैयाँसहित लुटपाटमा संलग्न सबैलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक साविक उग्रतारा जनगाल गाविस–२ घर भई हाल बनेपा नगरपालिका–१० बस्ने ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, त्यहीँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र सिन्धुली बस्ने १६ वर्षीय एक किशोर रहेका छन्।
प्रहरीको अनुसन्धानबाट यो घटनामा पाँच देखि छ जनाको समूह संलग्न रहेको देखिएको छ। लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरूलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरेका थिए। गार्ड कार्कीलाई सामान्य घाइते बनाई मुखमा पट्टी बाँधेर उनीहरूले लुटपाट गरेका थिए। नक्कली प्लाष्टिकको पेस्तोल देखाएर बैंकको भल्ट खुलाई पैसा बोरा र झोलामा हालेर फरार भएका थिए।
घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमो र चालक भागवतसिंह थापालाई प्रहरीले सबैभन्दा पहिले नियन्त्रणमा लिएको थियो। काभ्रेबाट विवाहमा जानका लागि छ जनाले गाडी बुक गरेको बहाना बनाइएको थियो।
घटना भएको भोलिपल्ट पुस २९ गते राति जंगलमा बोरामा लुकाएर राखिएको अवस्थामा एक करोड ८० लाख १० हजार पाँच सय रुपैयाँ फेला परेको थियो। पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुरीबाट चार जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो। खानतलासी गर्दा उनीहरूको साथबाट पाँच लाख नौ हजार छ सय ७५ रुपैयाँ फेला परेको थियो।
प्रहरीले उनीहरूले लुकाएर राखेको ८३ लाख ३५ हजार रुपैयाँ र घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल लगायत प्रमाण सामग्री बरामद गरेको छ। बैंकले प्रहरीलाई तीन करोड सात लाख रुपैयाँ लुटिएको जानकारी गराएको थियो।
प्रहरी अनुसन्धानले घटनामा छविलाल स्याङ्तान र चतुरमान बज्युको मुख्य संलग्नता रहेको देखाएको छ। बैंक रहेको भवनको घरधनी स्याङ्तान र उनका जेठान बज्युबीच योजना बनाइएको थियो। घटना भएपछि स्याङ्तानले बज्युलाई घ्याङलेखकै जंगलमा लुकाएर राखेका थिए। बैंक लुटपाटका लागि आवश्यक हातहतियारको व्यवस्थापन र सूचना घरधनी स्याङ्तानले नै दिएको खुलेको छ।
प्रहरीले गरेको सोधपुछबाट लुटेराहरूले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाइरहेको पाइएको छ। पुस २३ गते काठमाडौंबाट दुईवटा मोटरसाइकल भाडामा लिएर चार जना घटनास्थलमा आएका थिए, तर परिस्थिति अनुकूल नभएकाले योजना स्थगित गरिएको थियो।
पुस २८ गते पुनः बैंक लुट्ने योजनासहित टोली काठमाडौंको कोटेश्वरमा जम्मा भएको थियो। तर एक सदस्यको जन्मदिन परेकाले योजना भोलिपल्टका लागि सारिएको थियो। पुस २९ गते कोटेश्वरमा जम्मा भई सार्वजनिक सवारी साधनमा बनेपा पुगेर टाटा सुमो भाडामा लिई उनीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।