काठमाडौं। दुई वर्षअघि सर्वसाधारणमा सेयर (आईपीओ) जारी गरेको नेपाल वेयर हाउस ‘डिग्रेड’ भएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीलाई ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीमा राख्दै डिग्रेड गरेको हो।
कम्पनीले २०८० मंसिरमा जारी पुँजीको २० प्रतिशत ६८ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। दोस्रो बजारमा हाल कम्पनीको सेयर प्रतिकित्ता ८६० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। यसको मूल्य एक हजार १४७ रुपैयाँसम्म पुगेको थियो।
बजार पुँजीकरण ५ अर्ब ८४ करोड ३७ लाख बढी रहेको यो कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण उच्च छ। तर, कम्पनीको लगानी ढुब्न सक्ने खतरा रहेको इन्फोमेरिक्सको रिपोर्टमा उल्लेख छ। कम्पनीले रेटिङका लागि आवश्यक पर्ने महत्वपूर्ण विवरण र कागजात उपलब्ध नगराएपछि एजेन्सीले यस्तो कदम चालेको हो।
इन्फोमेरिक्स नेपालका अनुसार नेपाल वेयरहाउसिङ कम्पनीलाई आईपीओ जारी गर्दा प्रदान गरिएको ‘डबल बि माइनस’लाई हटाएर डिग्रेड गरिएको थियो। आवश्यक सूचना माग गर्दा कम्पनीले नपठाएपछि त्यसलाई पनि हटाइएको हो। आवश्यक तथ्यांक र जानकारी प्राप्त नहुँदा कम्पनीको वास्तविक आर्थिक अवस्था र कर्जा जोखिम विश्लेषण गर्न नसकिएको रेटिङ एजेन्सीले सक्दैनन्।
कम्पनीको क्रेडिट जोखिम विश्लेषण र रेटिङ नवीकरणका लागि एजेन्सीले पटक–पटक इमेल तथा टेलिफोनमार्फत ताकेता गर्दा पनि व्यवस्थापनले आवश्यक विवरण उपलब्ध नगराएको इन्फोमेरिक्स नेपालले जनाएको छ। सूचनाको अभावमा कम्पनीको वास्तविक वित्तीय अवस्था र जोखिमको मूल्यांकन गर्न नसकिने भएकाले धितोपत्र बोडको निर्देशिका र एजेन्सीको आफ्नै नीति बमोजिम उपलब्ध भएसम्मको जानकारीका आधारमा उक्त रेटिङ तय गरिएको हो।
इन्फोमेरिक्सले भनेको छ, ‘कम्पनीको असहयोगका कारण सूचनाको उपलब्धतामा जोखिम देखिएको छ, जसले गर्दा यसको क्रेडिट जोखिमबारे अनिश्चितता पैदा भएको छ। तसर्थ, लगानीकर्ता र ऋणदाताहरूलाई यो रेटिङ प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिन्छ।’
बोर्डको निर्देशिका अनुसार कुनै कम्पनीले आवश्यक जानकारी दिँदैन भने उपलब्ध भएसम्मको उत्तम जानकारीका आधारमा रेटिङ गर्नुपर्ने हुन्छ। त्यहीअनुसार इन्फोमेरिक्सले गरेको कम्पनी रेटिङले कम्पनीको वास्तविक जोखिमलाई पूर्ण रूपमा नजनाउन सक्छ। त्यसैले, यस कम्पनीको रेटिङ प्रयोग गर्दा विशेष सावधानी अपनाउन बैंक, वित्तीय संस्था, तथा लगानीकर्तालाई आग्रह गरिएको छ।
कम्पनीले बैंकबाट लिएको कर्जाको साँवा ब्याज नतिरेपछि समस्यामा आएको हो। कम्पनीले विभिन्न बैंकहरुबाट करिब ९४ करोड रुपैयाँ कर्जा लिएको थियो। कम्पनीमा एभरेस्ट बैंकको नेतृत्वमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, साबिकको बैंक अफ काठमाण्डू (हाल ग्लोबल आईएमई) र कृषि विकास बैंकले संयुक्त रूपमा प्रवाह गरेका थिए। उक्त कर्जा लिनका लागि कम्पनीले अर्को रेटिङ एजेन्सी इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको थियो। जसमा इक्राले पहिले एलडी दिएर पछि पुनः पुष्टी गर्दा ‘डिग्रेड’ गरेको छ।
कम्पनीको ब्याज खर्च ६५८ प्रतिशतले बढेको छ। यसले गर्दा कम्पनीलाई आफ्नो आम्दानीले ब्याज खर्च धान्न गाह्रो भएको हो। कम्पनीले आफ्नो उत्पादन क्षमताअनुसार उत्पादन गर्न नसकेको हुँदा समस्या सिर्जना भएको हो। हालसम्म कम्पनीको करिब ९३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ। कम्पनीले सन् २०२४ मा १ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा सन् २०२५ मा ९० लाख रुपैयाँको मात्रै गरेको छ।
कम्पनीको कमजोर वित्तीय अवस्थामा अध्यक्षको बचाउ
जुन २०१७ मा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई अगस्ट २०१८ मा पब्लिक कम्पनीमा परिणत भएको नेपाल वेयरहाउसिङ कम्पनीले कृषिजन्य उत्पादनको भण्डारण सेवा प्रदान गर्दै आएको छ।
निम्बस ग्रुपको यो कम्पनी नेपालकै सबैभन्दा ठूलो र आधुनिक प्रविधिको पहिलो निजी कृषि भन्डारण केन्द्र हो। नेपालमा नयाँ अवधारणमा शुरु भएको वेयरहाउसिङ कम्पनीबारे सरोकारवाला पक्षले सहज रुपमा नबुझ्दा व्यापार विस्तारमा समस्या भई आम्दानी संकुचित भएको कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बगडिया बताउँछन्।
‘यो एक किसिमको आफ्नो नयाँ कन्सेप्टको प्रोजेक्ट हो, त्यसले गर्दा बजारले स्वीकार्न अलि ढिलो भयो। त्यसले गर्दा क्याश फ्लोज अलि टाइट छ,’ कम्पनीका अध्यक्षले बगडियाले क्यापिटल नेपालसँग भने, ‘ ‘यो उत्पादन गर्ने उद्योगै नभए भण्डारण गर्ने उद्योग हो। किसान वा उद्योगीहरूले पहिला यस्तो काम कहिले नगरेको हुनाले उनीहरूलाई बुझाउन समय लागिरहेको छ।’
आम्दानी अपेक्षित रुपमा हुन नसकेपछि कम्पनीले आफ्नो कार्यशिल पुँजी व्यवस्थापनमा लिएको बैंक ऋण घटाउन हकप्रद सेयर जारी गर्न लागेको उनको भनाइ छ।
‘कम्पनीले ऋणको भार कम गर्न हकप्रद सेयर जारी गर्न लागेका छौं। ऋण नै घटेपछि खर्च कम हुन्छ र आम्दानी बचत हुन्छ,’ उनले भने, ‘अहिले कम्पनीको सञ्चालन नाफा सकारात्मक छ। अब ऋण घटाउने बित्तिकै ब्याजको भार घट्छ र आउने एक दुई वर्षमा हामी राम्रो नाफा कमाउने अवस्थामा पुग्छौं।’
कम्पनीको साधारण सभाले १ः१ः१ को अनुपातमा हकप्रद सेयर दिने निर्णय धेरै अघि गरिसकेको हो। कतिपय संस्थापकले पैसासमेत जम्मा गरिसकेका छन्। सर्वसाधारण सेयरधनीमा जानका लागि भने नेपाल धितोपत्र बोर्डको प्रक्रिया मात्र बाँकी रहेको उनले जानकारी दिए।
कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तुमा गरी कुल ५५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह रहेको छ। यसले भण्डारणका अतिरिक्त अक्सन व्यवस्थापन र प्रयोगशाला परीक्षण जस्ता सेवाहरू समेत दिँदै आएको छ।
निम्बस ग्रुप यो कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता हो। यस ग्रुपको प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५२ प्रतिशतभन्दा बढी सेयर हिस्सा छ। भने निम्बस होल्डिङ्सको करिब ३० प्रतिशत सेयर छ। साथै, निम्बस ग्रुपकै प्रोबायोटेक इन्डस्ट्रिज करिब २२ प्रतिशत सेयर छ।
नेपाल वेयरहाउसिङमा कम्पनीमा बैंक तथा बिमा कम्पनीहरूको पनि सेयर लगानी छ। जसमा शिखर इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनएमबी कम्पनीका संस्थापक लगानीकर्ता हुन्।
कम्पनीको अध्यक्षमा बगडिया जो निम्बस ग्रुपका अध्यक्ष पनि हुन् भने, प्रमुख कार्यकारी अधिकृत पवन कुमार शर्मा छन्। साथै, स्वतन्त्र सञ्चालकमा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ छिन्।