काठमाौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार रातीसम्म बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
‘केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लागेको छ’, उनले भने, ‘टुंगो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।’ उनका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ।
यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ। काठमाडौँ क्षेत्र १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिए।
बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।