बागलुङ। बागलुङमा कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ। जिल्ला कारागार बागलुङमा रहेका ५३ जना कैदीबन्दी मतदाता अस्थायी मतदानस्थल तयार गरिएको हो।
कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञराज रिजालले जानकारी दिए। कैदीबन्दीले उनीहरूसँग भएको परिचय पत्रका आधारमा मतदान नगर्न पाउने उनको भनाइ छ।
प्रमुख रिजालले भने,‘कैदीबन्दीलाई पनि मताधिकार हुन्छ, यस पटक बागलुङमा ५३ जना कैदीबन्दी मतदाता हुनुहुन्छ, उहाँहरूका लागि कारागामै मतदान गर्ने व्यवस्था मिलाइएको छ। सुरक्षा व्यवस्थालाई चुस्त बनाएर मतदान गर्ने वातावरण मिलाएका छौँ।’
कारगारसहित बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तयार गरिएको छ। १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको रिजालले बताए।
कैदीबन्दीलाई कारागार र कर्मचारी तथा सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको छ। उनीहरूले समानुपातिक मत मात्रै हाल्न पाउने व्यवस्था छ।
बागलुङ जिल्लाभर कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् जस मध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन्। निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन गरेको छ।