काठमाडौं। लोकतान्त्रिक पार्टी भनिने नेकपा एमालेभित्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा अध्यक्ष केपी शर्मा ओलीले निरंकुशता प्रदर्शन गरेका छन्। जेनजी आन्दोलनको म्यान्डेटविपरीत फेरि एमाले अध्यक्ष बनेका ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने इतर समूहलाई टिकट नदिएर पक्षपात गरेका हुन्।
एमालेमा अध्यक्ष प्रत्यासी रहेका ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, गोकुल बाँस्कोटालगायतको जिल्ला सिफारिस लत्याएर ओलीले टिकट नदिने संकेत गरेका हुन्।
शनिबार बसेको एमाले सचिवालय बैठकले १४१ स्थानमा टिकटको टुंगो लगाए पनि महाधिवेशनमा ओली पक्षविरुद्ध प्रतिस्पर्धामा उत्रिएकालाई छानीछानी टिकट काटिएपछि विवाद देखिएको छ। एमाले उपमहासचिव भट्टराईले एमालेबाट टिकट नपाए पनि धैर्य गर्न र पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्।
आइतबार बिहान फेसबुकमा एक पोस्ट गर्दै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु।’ उनले अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन्। ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ’, भट्टराईले भनेका छन्।
ओलीले महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धी रहेकालाई टिकट नदिने संकेत देखिएको छ। सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन्।
यसै क्रममा पोखरेल, भट्टराई, बाँस्कोटा, श्रेष्ठलगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा निर्णय ओलीले आफैं गर्ने भएका छन्। पोखरेल समूहबाट उपाध्यक्ष निर्वाचित गोकर्ण विष्टले भने गुल्मी २ बाट टिकट पाएका छन्।