काठमाडौ। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ चेम्बर उपाध्यक्ष दीपक मल्होत्राले नेपालमा बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २६औं वार्षिकोत्सवको कार्यक्रममा उपाध्यक्ष मल्होत्राले जलविद्युत् क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै विद्युत् खपतमार्फत तीव्र आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा राखे।
‘नेपालमा मागभन्दा आपूर्ति बढ्दै गएको अवस्थामा हामीले निर्यात बाहेक अन्य विकल्पतर्फ पर्याप्त ध्यान दिन सकेका छैनौं,’ उनले भने, ‘उद्योग, यातायात र अन्य क्षेत्रमा विद्युत् खपत बढाउन नीतिगत पहल आवश्यक छ।’
उनका अनुसार उद्योग क्षेत्र ठूलो परिमाणमा विद्युत् खपत गर्ने क्षेत्र भए पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योगको योगदान सन् १९९६ को ९ प्रतिशतबाट घटेर हाल ५ प्रतिशतभन्दा कममा झरेको छ। यद्यपि कुल विद्युत् खपतको ३५ प्रतिशतभन्दा बढी हिस्सा औद्योगिक क्षेत्रबाट हुने गरेको र पिक आवरमा १८०० मेगावाट मागमध्ये करिब ३३–३५ प्रतिशत उद्योगबाट आउने उनले जानकारी दिए।
उपाध्यक्ष मल्होत्राले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन र व्यापार घाटा न्यूनीकरणका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा नेपाली निजी क्षेत्रले जोखिम मोलेर उल्लेखनीय उद्यमशीलता देखाइरहेको बताए।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा खर्बौं लगानी आवश्यक पर्ने र त्यसका लागि विदेशी लगानी पनि अपरिहार्य हुने उनको भनाइ थियो। उनले सार्वजनिक÷निजी साझेदारी मोडलमार्फत विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए।
विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आएको स्मरण गराउँदै उनले विद्युत् नियमन आयोगले हालै जारी गरेको प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिकालाई सकारात्मक कदमको रूपमा स्वागत गरे। अब हुइलिङ चार्जलाई वैज्ञानिक, व्यावहारिक र सुलभ बनाउँदै निजी क्षेत्रलाई आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापार गर्न सहज वातावरण बनाउनुपर्ने उनले बताए।