काठमाडौं। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशत नाघेको छ। हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र बीएफआइएस प्रालिले संयुक्त रूपमा तयार पारेको ‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी’ शीर्षकको अध्ययन प्रतिवेदनअनुसार देशभर सञ्चालन, निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका ९२३ वटा जलविद्युत् आयोजनामा उक्त लगानी भएको हो।
अध्ययनअनुसार हाल सञ्चालनमा रहेका र निर्माणाधीन ३४७ वटा आयोजनाबाट ७,२५१ मेगावाट विद्युत् उत्पादन क्षमता जोडिएको छ। यिनमा मात्र १२ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
यी आयोजनामध्ये सञ्चालनमा रहेका २०४ आयोजनाले २,९४८ मेगावाट र निर्माणाधीन १४३ आयोजनाले ४,३०३ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्छन्।
त्यसैगरी सर्वेक्षण, अध्ययन, डिजाइन तथा अनुमति प्रक्रियामा रहेका ५७६ वटा आयोजनाको कुल सम्भावित क्षमता २७,५३५ मेगावाट रहेको छ। यी आयोजनामा हालसम्म करिब ६६ अर्ब ६२ करोड रुपैयाँ बराबरको इक्विटी लगानी भइसकेको अध्ययनमा उल्लेख छ।
अध्ययनले नेपालमा जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका निर्णायक बन्दै गएको देखाएको छ । हाल कुल विद्युत उत्पादन क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको छ। निर्माणाधीन तथा विकास चरणका आयोजनासमेत समावेश गर्दा निजी क्षेत्रको सहभागिता झन्डै ९० प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२५ को फेब्रुअरीसम्म विद्युत क्षेत्रमा प्रवाहित बैंक ऋण ४ खर्ब २ अर्ब रुपैयाँ नाघेको छ, जुन कुल बैंक कर्जाको ७.४ प्रतिशत हो। सन् २००९ मा यो अनुपात ०.६९ प्रतिशत मात्र थियो। हालसम्म ९१ वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी करिब ४१ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन्। त्यस्तै, अधिकार सेयरमार्फत करिब ४५ अर्ब रुपैयाँभन्दा बढी पुँजी उठाइएको छ।
सरकारी क्षेत्रतर्फ नेपाल विद्युत् प्राधिकरणले प्रवर्द्धन गरेका १५ वटा आयोजनाबाट ५६५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। यी आयोजनामा करिब १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ।
सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा आन्तरिक तथा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता, प्रसारण संरचना विस्तार आवश्यक पर्ने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
हाल देशभर करिब ९०० भन्दा बढी आयोजनाले लाइसेन्स लिइसकेका छन् भने ११,६०० मेगावाट जलविद्युत् र करिब १,००० मेगावाट सौर्य ऊर्जाको पीपीए सम्पन्न भइसकेको कार्कीले बताए। तीमध्ये करिब ४,००० मेगावाट ग्रिडमा जोडिइसकेको छ भने ५,००० मेगावाट निर्माणाधीन अवस्थामा छन्।
उनले ऊर्जा क्षेत्रमा १ करोड १३ लाखभन्दा बढी नेपालीको लगानी भइसकेको छ भने कुल लगानी १३ खर्ब १० अर्ब रुपैयाँ नाघेको बताए। थप १३,००० मेगावाट आयोजनाका लागि पीपीए आवेदन दिइसकिएको र २०,००० मेगावाट बढी आयोजना विभिन्न चरणमा रहेको इपपान अध्यक्ष गणेश कार्कीले भनाइ छ।