काठमाडाैं। विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सर्वेश सुरीलाई एसिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय उपाध्यक्ष नियुक्त गरेको छ। सोमबार गरिएको घोषणामा आईएफसीले सुरीले यस क्षेत्रका जटिल विकास चुनौतीहरू सम्बोधन गर्न र रोजगारी सृजना गर्न निजी क्षेत्रलाई परिचालन गरी सबै लगानी र परामर्श सेवाहरूको रणनीतिक नेतृत्व गर्ने जनाएको छ।
भारतीय नागरिक सुरीले वैश्विक लगानी र विकास क्षेत्रमा २५ वर्षको अनुभव बोकेका छन्। उनकाे सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनमा लामाे अनुभव छ। सिंगापुरमा रहने सुरीले भारतदेखि प्रशान्त टापुहरूसम्म काम गर्ने आईएफसीको टोलीको नेतृत्व गर्नेछन्। यो टोलीले वित्तीय, उत्पादन, कृषि व्यवसाय, सेवा तथा पूर्वाधार र प्राकृतिक स्रोत क्षेत्रमा निजी क्षेत्रका समाधानहरू डिजाइन गर्दै समुदाय र व्यवसायमा रूपान्तरणकारी परिवर्तन ल्याउने काम गर्नेछ।
सुरीलाई सहयोग गर्न दुई डिभिजन निर्देशक नियुक्त गरिएको छ। इन्डोनेसियाको जकार्तामा केइको मिवाले दक्षिण पश्चिम एसिया र प्रशान्त टापुहरूको जिम्मेवारी सम्हाल्नेछन् भने चीनको हङकङमा अर्नाउड डुपोइजाटले फेब्रुअरी १, २०२६ देखि पूर्वी एसियाको निरीक्षण गर्नेछन्।
नयाँ नियुक्तिपछि सुरीले भने, "एसियामा फर्कने र यस क्षेत्रमा अर्थपूर्ण र दीर्घकालीन फरक पार्न सक्ने भूमिका पाउनु मेरो लागि साँच्चिकै सौभाग्यको कुरा हो। एसिया त्यो क्षेत्र हो जहाँ म हुर्केँ र पहिलोपटक काम गरें। यस क्षेत्रका दबाबपूर्ण विकास चुनौतीहरू व्यापक रूपमा सम्बोधन गर्न सार्वजनिक र निजी क्षेत्रका क्षमताहरू एकसाथ जुटाउने अवसर पाउँदा म हर्सित छु।"
यस नियुक्ति अघि सुरी दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहँदै आईएफसीको पूर्वाधार तथा प्राकृतिक स्रोतका लागि क्षेत्रीय उद्योग निर्देशक थिए। यस अवधिमा उनले मिशन ३०० सुरु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। विश्व बैंक समूहमा उनको करियरको ६ वर्ष बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी (मिगा) मा सञ्चालन निर्देशकको रूपमा बितेको छ। जहाँ उनले विकासशील मुलुकहरूमा सीमापार लगानीका लागि वैश्विक जोखिम न्यूनीकरण उत्पादनहरू व्यवस्थापन गरे। त्यसअघि सुरीले आईएफसीमा विभिन्न नेतृत्व पदहरूमा १५ वर्ष बिताए जसमा जकार्तामा रहँदै इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर र पापुवा न्यू गिनीमा व्यावसायिक सञ्चालन निरीक्षण गर्ने वरिष्ठ क्षेत्रीय प्रबन्धकको भूमिकामा पनि थिए।
क्षेत्रका चुनौतीहरूको चर्चा गर्दै सुरीले भने, "एसिया र प्रशान्त क्षेत्रका मुलुकहरूले जटिल र विविध समस्याहरू सामना गरिरहेका छन्। तर यस क्षेत्रका सबै मानिसहरूलाई एकजुट गर्ने कुरा के छ भने सबैले रोजगारीको सम्मान चाहन्छन्, आफू र आफ्नो परिवारलाई सहयोग गर्न आजीविका चाहन्छन्। त्यसैले मेरो केन्द्रबिन्दु रोजगारी सृजना गर्न आईएफसीको निजी क्षेत्र समाधानको उपकरणलाई अधिकतम उपयोग गर्नेमा हुनेछ।"
उनले थप भने, "हामी निजी पुँजी परिचालन र नवीन वित्तीय साधनहरू अपनाएर यो गर्न सक्छौं। हामी स्थानीय पुँजी बजार सुदृढ गर्न सक्छौं। हामी बढी प्रभावका लागि इक्विटी लगानी गर्न सक्छौं। र हामी रोजगारी सृजनाको इन्जिनका रूपमा सूक्ष्म, साना र मझौला उद्यमहरूमा लगानी गर्न सक्छौं।"
सुरीले भारतको दिल्ली विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र अहमदाबादको भारतीय व्यवस्थापन संस्थानबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा हासिल गरेका छन्। आर्थिक वर्ष २०२५ मा आईएफसीले विकासशील मुलुकहरूका निजी कम्पनी र वित्तीय संस्थाहरूमा रेकर्ड ७१.७ अर्ब डलर प्रतिबद्धता जनाएको थियो। विश्व बैंक समूहको सदस्य आईएफसी उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित विश्वको सबैभन्दा ठूलो वैश्विक विकास संस्था हो जसले एक सय भन्दा बढी मुलुकहरूमा काम गरिरहेको छ।