काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले होर्मुज जलडमरूमध्यमा आफ्ना दुई तेलवाहक जहाजमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेको छ।
इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।
बहराइनको रक्षा मन्त्रालयले मुम्बासा र बाहिया नामका दुई तेलवाहक जहाजलाई इरानबाट प्रहार गरिएका दुईवटा निर्देशित क्षेप्यास्त्रद्वारा निशाना बनाइएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमण होर्मुज जलडमरूमध्यको दक्षिणी भाग तथा ओमानको समुद्री क्षेत्रमा भएको हो।
इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी स्वीकार गरेको छ। उसले आक्रमणमा परेका जहाजहरूले निर्धारित नियमहरूको उल्लङ्घन गरिरहेको दाबी गरेको छ।
यद्यपि, इरानी सैन्य स्रोतसँग सम्बद्ध समाचार संस्थाहरूले नियम उल्लङ्घन गरेका केही जहाजमाथि आक्रमण गरिएको दाबी गरे पनि आक्रमण कसले गरेको हो भन्नेबारे स्पष्ट उल्लेख गरेका छैनन्।
यसअघि बेलायतको समुद्री व्यापार सञ्चालन निकायले मंगलबार बिहान ओमानको कलहात क्षेत्रबाट करिब ४० समुद्री माइल उत्तरपूर्वमा समुद्री घटनाको जानकारी दिएको थियो।
उक्त निकायका अनुसार एक तेलवाहक जहाजका कप्तानले अज्ञात वस्तु जहाजको इन्जिन कक्षको दाहिने भागमा ठोक्किएको जानकारी दिएका थिए।
निकायले घटनाका बेला जहाजमा रहेका सबै चालकदलका सदस्य सुरक्षित रहेको जनाएको छ।