काठमाडौं। व्यापारको अपार सम्भावना बोकेको अलैँची ५२ भन्दा बढी उत्पादनमा प्रयोग भएको पाइएको छ। खाद्य र कृषि संगठनको सहयोगमा किङ्स कलेज नेपालले २२ महिना लगाएर गरिएको अध्ययनले ५२ भन्दा बढी सामाग्री उत्पादनमा अलैँची प्रयोग गरिएको पाइएको हो।
खाना र औषधीबाहेक यसलाई साबुन, स्याम्पु, परफ्युम, क्यान्डल, सौन्दर्य सामग्री र न्युट्रास्युटिकल्समा प्रयोग गर्न सकिने कलेजका एग्री बिजनेश टिमका संयोजक सन्देश पौडेलले बताए। तर, नेपालमा यस्ता प्रयोगहरू नदेखाइएकाले अन्तर्राष्ट्रिय बजारमा यसको भ्यालु सीमित भएको उनको भनाइ छ।
विश्वमा ठूलो अलैँची मुख्य रूपमा नेपाल, भारत र भुटानमा मात्र उत्पादन हुन्छ। भुटानको वार्षिक उत्पादन करिब एक हजार ४ सय टन छ। नेपालको उत्पादन करिब ८ हजार टन छ। ठूलो अलैँची नेपालका पहाडी भेगमा ७ सयदेखि दुई हजार मिटर उचाईसम्म पाइन्छ।
अलैँची उत्तर फर्केका भिरालो जमिन र अलिकति ओसिलो वातावरणमा राम्रोसँग फल्ने बाली हो। कम स्याहार चाहिने र नेपालको हावापानीसँग अत्यन्त सुहाउँदो भएकाले खाद्य र कृषि संगठनले अलैँचीलाई ‘वन कन्ट्री वन प्रोडक्ट’ परियोजनामा समावेश गरेको छ।
हाल ठूलो अलैँची नेपालको सबैभन्दा उच्च मूल्यको कृषि निर्यात वस्तुमध्ये एक हो। नेपालबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ बराबरको अलैँची कारोबार हुन्छ। अनौपचारिक च्यानलमार्फत हुने कारोबारसमेत जोड्दा कुल कारोबार १०–११ अर्ब रुपैयाँसम्म पुग्ने पौडेलको अनुमान छ।
नेपालमा ठूलो अलैँचीका करिब ८ जात पाइन्छन्। तीमध्ये रामशाही र गोलशाही सबैभन्दा धेरै खेती गरिन्छ। भर्लांगे जातले प्रतिकेजी सबैभन्दा उच्च मूल्य पाउँछ। उत्पादनको छनोट माटोको गुणस्तर, उचाई र भौगोलिक अवस्थाको आधारमा गरिन्छ।
यसका साथै अर्को चुनौती नक्कली उत्पादनको हो। ग्वाटेमाला र तान्जानियाबाट ‘लार्ज कार्डामम’ भनेर डुप्लिकेट उत्पादन बजारमा आउन थालेका छन्।
‘पूर्वी नेपालका ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा र भोजपुरमा अलैँची खेती अहिले स्याचुरेट हुँदै गएको छ,’ उनले भने, ‘अलैँची रोपेको करिब चार वर्षमा फल दिन थाल्छ। करिब २५ वर्षसम्म उत्पादन दिन्छ। त्यसपछि बोट पुरानो भएर उत्पादन घट्दै जान्छ।’
पौडेलका अनुसार अब अलैँची उत्पादन पश्चिम नेपालतिर विस्तार गरिएन भने नेपालको कुल उत्पादन घट्ने जोखिम छ। उत्पादन घट्दा मूल्य अत्यधिक बढ्न सक्छ। मूल्य धेरै बढेमा माग घट्ने सम्भावना हुन्छ। अध्ययनले गुल्मी, बागलुङ, स्याङ्जा, तनहुँ हुँदै डडेलधुरासम्मको बेल्ट अलैँची विस्तारका लागि उपयुक्त देखाएको सन्देश पौडेलको भनाइ छ।
‘अलैँचीको अन्तर्राष्ट्रिय बजारमा मूल्य असमानता देखिन्छ। नेपालमा एक मन (४० केजी) अलैँचीको मूल्य करिब एक लाख २० हजार रुपैयाँ पुगेको बेला दक्षिण भारतको अक्सन मार्केटमा उही अलैँची झण्डै ३ हजार रुपैयाँ बराबरमा कारोबार भइरहेको पाइन्छ,’ पौडेलले भने, ‘त्यही अलैँची साउदी अरेबियामा पुग्दा ११ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको देखिएको छ।’
नेपालले अलैँची कच्चा निर्यात गरिरहेकाले यस्तो मूल्य अन्तर देखिएको हो। भ्यालु एडिसन, ब्रान्डिङ र गुणस्तर प्रमाणीकरण नगरी अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाउन नसकिने पौडेलको भनाइ छ। यसका साथै अर्को चुनौती नक्कली उत्पादनको हो। ग्वाटेमाला र तान्जानियाबाट ‘लार्ज कार्डामम’ भनेर डुप्लिकेट उत्पादन बजारमा आउन थालेका छन्।
त्यस्तै, नेपालमै पनि ‘चुरुम्फा’ नामक फरक बोट अलैँचीमा मिसाउने प्रवृत्ति देखिएको छ। यसले नेपाली अलैँचीको साखमा गम्भिर असर पारेको पौडेलको तर्क छ। ‘नेपालको उत्पादन ल्याबोरेटरी एक्रिडिटेड छैन। बैंकहरूले एलसी मान्दैनन्, लजिस्टिक्स महँगो र झन्झटिलो छ, र उत्पादन युनिट साना भएकाले बार्गेनिङ पावर कमजोर छ,’ उनले भने।
नेपाली अलैँचीलाई जियोग्रफिकल इन्डिकेशन (जीआई) दर्ता र ब्रान्डिङको अभावले पनि अन्तर्राष्ट्रिय बजारमा चिनाउन समस्या छ। कलेजले गरेको अनुसन्धानका क्रममा पाकिस्तानी बायरहरू नेपालबाट सीधैँ अलैँची किन्न इच्छुक रहेको पाइएको छ। तर, नेपालमा अक्सन मार्केट, स्पष्ट एजेन्सी, एसोसिएसन र प्रोपर डकुमेन्टेसन नहुँदा कारोबार अगाडि बढ्न नसकेको देखिएको छ।
खाद्य र कृषि संगठनअन्र्तगतका भ्यालु चेनमा कार्यारत किरण खनालका अनुसार यदि कूटनीतिक पहल सही ढंगले गर्न सकिएमा यूएई वा यूएस बजारमै नगाई बंगलादेश र पाकिस्तानकै बजारले अहिलेको भन्दा २०/३० प्रतिशत बढी मूल्यमा नेपाली अलैँची किन्न तयार छन्।
तर, बंगलादेश र पाकिस्तानसँग ट्याक्स दरसम्बन्धी समस्या भने समाधान गर्नुपर्ने चुनौती देखिएको छ। नेपालले प्राथामिकतामा राखेको कृषि अलैँचीलगायत बालीलाई जिआई दर्ताका लागि कानुन बनाउने प्रक्रिया रहेको खनालको भनाइ छ।