काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को नयाँ अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। हिमालयन बैंकका अध्यक्ष श्रेष्ठलाई सिबिफिन कार्यसमिति बैठकले सर्वसम्मत रूपमा तेस्रो अध्यक्षका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका अध्यक्ष उपेन्द्र पौडेलको नबिल बैंकमा कार्यकाल समाप्त भएसँगै सिबिफिनमा पनि अध्यक्ष पद रिक्त थियो। उक्त पदमा सिबिफिनमै महासचिव रहेका श्रेष्ठ चयन भएका हुन्।
श्रेष्ठको स्थानमा महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन्। यसअघि गोयल सिबिफिन कार्यसमिति सदस्य थिए। साथै, कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपाल चयन भएका छन्।
सिबिफिनमाको विधानको व्यवस्थाअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष जस्ता मुख्य पदमा बहालवाला बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार वाणिज्य बैंकका अध्यक्षहरूमध्येबाटै नयाँ नेतृत्व चयन गरिएको हो।
यसअघि कोषाध्यक्षको जिम्मेवारीमा रहेका एनआईसी एसिया बैंकका तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको सो स्थानमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई ल्याइएको हो।
सिबिफिनमा अहिले वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्यय, उपाध्यक्षमा कुशप्रसाद मल्ल, सचिव थानेश्वर पौडेल, सह–कोषाध्यक्षमा दिलीप मुन्नकर्मी, सदस्यमा राधेश पन्त, बालगोपाल वैद्य, राजाराम खड्का, किशोरकुमार कार्की र टुकप्रसाद पौडेल छन्।