काठमाडौं। फागुन २१ को चुनाव नजिकिँदै जाँदा सहरका होटल तथा रेस्टुरेन्टमा राजनीतिक दलका नेता÷कार्यकर्ताको भीड बढ्न थालेको छ। सहरका होटल तथा रेस्टुरेन्ट हुन् या गाउँघरका चियापसल। जहाँ पनि चुनावी छलफल चलेका छन् र टेबल भरिएका छन्।
बाहिरबाट हेर्दा गज्जबको व्यापार देखिन्छ। तर ती होटल व्यवसायीको चिन्ता अरुको भन्दा बेग्लै छ। नेताको नाममा कार्यकर्तालाई खुवाइन्छ, बास बसाइन्छ, तर बिल भने ‘पछि तिर्छु’ भन्ने वाक्यमै अल्झिएर बस्छ।
प्रतिनिधिसभाका लागि मनोनयन दर्ता भएसँगै मुलुकभर चुनावी माहोल सुरु भइसकेको छ। विभिन्न राजनीतिक दलले आफ्नो शक्ति प्रदर्शन गर्ने, भोट माग्ने र विभिन्न भेटघाट तीव्र बनाउन थालेपछि आर्थिक गतिविधि व्यापक बढ्ने अपेक्षा गरिँदै आएको छ।
सहर हुँदै दूरदराजका गाउँमा समेत चुनावी चहलपहल बढ्दा आर्थिक गतिविधि चलायमान हुन्छन्। यसले सहरको पैसा गाउँसम्म पुग्ने र गाउँबाट पुनः सहरमा त्यो पैसा विभिन्न माध्यबाट आइपुग्दा अर्थतन्त्र चहलपहल हुने अपेक्षा गरिएको हुन्छ।
उधारोले हैरानीमा होटल व्यवसायी
जति बेला निर्वाचन सहित विभिन्न राजनीतिक दलका कार्यक्रमहरू हुन्छ,त्यो बेला सबैभन्दा बढी मार र फाइदामा होटल व्यवसायी नै हुन्छ। होटल तथा रेस्टुरेन्टमा हुने छलफल र कार्यकर्ता भेटघाटको मुख्य थलो नै होटल बन्ने हुँदा अन्य समयभन्दा निर्वाचनको बेला धेरै चहलपहल हुन्छ। तर, आम्दानी मात्र हैन, उदारो रकमले पनि हैरानीमा पर्ने गरेको गुनासो व्यवसायीको छ।
होटल एसोसिएसन अफ नेपाल(हान)का एक पदाधिकारीका अनुसार ठूला नेताहरूका नाममा कार्यकर्ताले उधारो खाएर हिँड्ने र पछि सम्पर्कमै नआउने क्रम बढेको छ। ‘नेताहरूको नाममा होटल तथा रेस्टुरेन्ट बुक गर्ने र पैसा तिर्ने बेला उल्टै सहयोग गर्नुपर्छ भनेर धम्काएर हिड्ने प्रवृत्तिसमेत व्यापक छ,’ ती पदाधिकारीले भने, ‘हाम्रो लागि निर्वाचन आउनुभन्दा नआएकै राम्रो हुन्छ।’
साना तथा मझौला होटल सबैभन्दा बढी मारमा
निर्वाचनका क्रममा सबैभन्दा बढी उधारोको मारमा साना तथा मझौला होटल पर्ने गरेका छन्। व्यवसायीका अनुसार नेताहरूले कार्यकर्तालाई राख्न र खुवाउन मझौला तथा साना होटल रोज्ने गरेका छन्। होटलले विश्वासको आधारमा बसाइ र खानाको व्यवस्थापन गरिदिए पनि उधारो रकम उठाउन मुस्किल हुने गरेको व्यवसायीको भनाइ छ।
‘नेताहरूको नाम लिएर आएपछि कार्यकर्ताहरूलाई नराख्ने भन्ने हुँदैन,’ एक व्यवसायीले भने, ‘पछि पैसा तिर्ने बेलामा पछि आउछु भनेर हिड्छन्, त्यो पछि भन्ने दिन कहिल्यै पनि आउदैन।’
ठूला नेतालाई उदारोको बारेमा थाहासमेत हुँदैन
कतिपय अवस्थामा ठूला नेता अर्थात उम्मेदवारलाई होटलमा उदारो रकम बाँकी छ भन्ने जानकारीसमेत नहुने गरेको व्यवसायीको भनाइ छ। ‘पछि ठूला नेतालाई नै फोन गरेर उधारो रकमबारे बताउँदा उल्टै चकित परेका घटनासमेत छन्,’ ती व्यवसायीले भने, ‘नेताका वरिपरि हिँड्नेले नै होटलमा उधारो राख्ने र नेताबाट भने पैसा लिइसकेका हुन्छन्।’
शक्तिको डरले मौन व्यवसायी
निर्वाचनपछि शक्तिशाली हुने र अनावश्यक दुःख दिने त्रासले पनि धेरै व्यवसायीले उधारो रकम स्वीकार्ने गरेको गुनासोसमेत गर्छन्। ‘पछि तिनै नेता शक्तिमा पुगेपछि केही काम गरिदिन्छन्, किन भन्ने आश पनि राखेका हुन्छन्,’ अर्का एक व्यवसायीले भने, ‘पछि सरकारी कार्यक्रम र निजी क्षेत्रकै पनि धेरै कार्यक्रम आफ्ना होटलमा गराउँछन् र त्यहीबाट उधारो रकम असुल्छु भन्ने सोच राख्नेहरू पनि हुन्छन्।’