सर्लाही। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ।
बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेका हुन्।
स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए।
क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ। केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ। आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उनले बताए।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सञ्चालन गर्न लागेको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले केन्द्रको उद्घाटनसमेत गरे।
त्यस अवसरमा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनबाट शल्यक्रियासहित उपचार सुरु गर्ने योजना रहेकाले जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी दिन प्रदेश सरकारसमक्ष अनुरोध गरे।
मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति सुधारका लागि कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिए। उनले नागरिकको नैसर्गिक अधिकारका रूपमा रहेको स्वास्थ्य क्षेत्रमा रहेका लापरबाही नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण दिएर प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मुख्यमन्त्री यादवले लायन्स क्लबप्रति आभार प्रकट गरेका थिए।
प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आँखा उपचार केन्द्रका लागि दक्ष प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजनासहित आवश्यक बजेट विनियोजन गरिने बताए।
प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले उपकरणको सही सदुपयोग गरी आँखा रोगीले नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गरे।