काठमाडौं। काठमाडौं फिनटेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ मा काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथामसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई लक्षित गर्दै आयोजना गरिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञले साइबर सुरक्षा, ठगी नियन्त्रण तथा जोखिम व्यवस्थापनका विषयमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।
सम्मेलनका मुख्य वक्ता भारतको केन्द्रीय बैंकको नेतृत्वमा स्थापना गरिएको बैंकिङ प्रविधि, साइबर सुरक्षा तथा अनुसन्धान तालिम केन्द्र प्रमुख तथा पूर्वकेन्द्रीय बैंकर दीपक कुमार हुनेछन्। उनले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा, केवाईसी प्रणाली तथा डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्नेछन्।
कार्यक्रमको मुख्य आकर्षण साइबर ठगीबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित रहनेछ। नेपालमा मात्र हालसम्म अर्बौं रुपैयाँ बराबरको साइबर ठगीका घटना भइसकेका छन् भने यस्ता अपराधको संख्या र जटिलता निरन्तर बढ्दो क्रममा छ।
विभिन्न प्रलोभनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याई रकम ठगी गरिएका हजारौं घटना सार्वजनिक भइसकेका छन्।
भारतको एचडीएफसी बैंकले साइबर ठगीविरुद्ध हासिल गरेको सफल अनुभव विशेष रूपमा प्रस्तुत गरिनेछ। सो अभियानको नेतृत्व गरेका ख्यातिप्राप्त बैंकर मनिष अग्रवालले बैंक तथा ग्राहकलाई साइबर ठगीबाट जोगाउन गरिएका प्रभावकारी रणनीति, व्यावहारिक उपाय र वास्तविक केसको अनुभव सम्मेलनमा साझा गर्नेछन्।
त्यसैगरी भारतीय केन्द्रीय बैंकको साइबर सुरक्षा स्थायी समितिका सदस्य, इन्टरपोलका प्रशिक्षक तथा अन्स्र्ट एन्ड योङका साइबर पार्टनर कृष्ण शास्त्रीले पनि साइबर जोखिम, अन्तर्राष्ट्रिय अभ्यास तथा नियामक दृष्टिकोणबारे आफ्नो प्रस्तुति दिनेछन्।
सम्मेलनमा विश्वका अग्रणी कार्ड नेटवर्क सञ्चालक भिसा (ख्क्ष्क्ब्) का विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा विशेषज्ञको सक्रिय सहभागिता रहनेछ। कार्यक्रमलाई फोनपे, इसेवा, भिसा, एससीटी र ट्युटलरले सहयोग र समर्थन गरेका छन्।
पीसीआई एसएससी विश्वव्यापी रूपमा भुक्तानी डेटा सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने तथा प्रमाणीकरण प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो। नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने संस्थाका लागि पीसीआई डीएसस प्रमाणीकरण अनिवार्य गरेको छ।
काठमाडौँ फिन्टेक बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रको क्षमता अभिवृद्धि, अनुसन्धान, ज्ञान विकास तथा नीति संवादमा समर्पित संस्था हो।