काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि सडक सुधार र सुरक्षा सुनिश्चित गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।
निर्वाचन अवधिमा सार्वजनिक यातायातमा चाप बढ्ने देखिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था सुधार र शान्ति सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेको हो।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षाका कारण देशभरका राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकहरू अझै पनि साँघुरा र खाल्डाखुल्डीले भरिएका उल्लेख गरिएको छ। यसले सार्वजनिक सवारी साधन सञ्चालनमा गम्भीर कठिनाइ सिर्जना गरिरहेको महासंघको भनाइ छ।
विशेषगरी नारायणगढ–बुटवल, नौबिसे–मुग्लिन र बी.पी. राजमार्गलगायतका प्रमुख सडक खण्डहरू जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै महासंघले निर्वाचनका बेला यात्रु तथा मतदाताको यात्रा थप चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिएको छ।
सडकको दयनीय अवस्थाका कारण यात्रु तथा मतदातालाई गन्तव्यमा पुग्न अत्यधिक समय लाग्ने, दुर्घटनाको जोखिम बढ्ने र सार्वजनिक यातायात व्यवसायीहरू समेत असहज अवस्थामा पर्ने विज्ञप्तिमा जनाइएको छ।
महासंघले सम्बन्धित निकायलाई तत्काल राष्ट्रिय तथा सहायक राजमार्ग र ग्रामीण सडकहरूको मर्मतसम्भार गर्न, खाल्डाखुल्डी पुर्न, सडक चौडा गर्न र आवागमन सहज बनाउने व्यवस्था मिलाउन आग्रह गरेको छ। साथै, निर्वाचन अवधिमा सार्वजनिक यातायात निर्वाध रूपमा सञ्चालन गर्न शान्ति सुरक्षाको उचित प्रबन्ध गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।
महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा यात्रु तथा मतदाताले सुरक्षित र सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ।