काठमाडौं। ‘समृद्धिका लागि सामूहिक उद्यमशीलता’ भन्ने नाराका साथ सुरु भएको रिडी ग्रुपको ड्रिम प्रोजेक्टको रुपमा पूर्वी नेपालको धनकुटामा चारतारे होटल रिडी नाम्जे इको रिसोर्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। करिब एक अर्ब लगानीमा निर्माण भइरहेको होटल २०८३को सुरुवातबाट सञ्चालनमा ल्याउने गरी काम हुन थालेको ग्रुपका अध्यक्ष मानबहादुर बुढाले जानकारी दिए।
सन् २०११ मा सीएनएन ट्राभलले विश्वका कहिले नाम नसुनिएको तर पुग्नैपर्ने १२ उत्कृष्ट स्थानभित्र धनकुटाको नाम्जे गाउँलाई समावेश गरेपछि अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनेको थियो। योसँगै सोही स्थानमा सुविधा सम्पन्न होटल निर्माण गरिएको उनले बताए।
-1769148602.jpeg)
६ रोपनी ११ आना जग्गामा निर्माण भइरहेको रिसोर्टमा रिडी ग्रुपको ७० प्रतिशत कर्पोरेट लगानी रहेको र बाँकी ३० प्रतिशत स्थानीय एवं कोशी प्रदेशका लगानीकर्ताहरुको रहेको अध्यक्ष बुढाले जानकारी दिए। रिडी नाम्जे इको रिसोर्टलाई पर्या हस्पिटालिटी प्रवद्र्धनसहित नेपालकै नमुनाको रिसोर्ट बनाउने योजना बनाएको उनले बताए।
रिसोर्टमा स्वीट, डिलक्स र स्टाण्डर्ड गरी जम्मा ४५ वटा कोठा रहनेछ। यस्तै, एक पटकमा १०० जनाका लागि रेष्टुरेन्ट एण्ड बार सेवा उपलब्ध गराउने योजना बनाएको छ। रिसोर्टमा मुख्य गरी कर्पोरेट बैठक तथा कोठाहरुसहित ५०० जनासम्मलाई धान्ने सुविधा सम्पन्न बहुउद्देश्यीय कन्फ्रेन्स हलसमेत निर्माण भइरहेको छ। बालबालिकालाई खेल्नका लागि चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक तथा अपांंग मैत्री वातावरणसमेत होटलमा हुनेछ।
प्राकृतिक स्पा, वेलनेस हेल्थ क्लबका साथै सौना, ज्याकुजी, जिम, योगा तथा ध्यान केन्द्रसमेत त्यहाँ हुनेछ। रिसोर्टमा आउने पाहुनालाई पूर्वी नेपालको बहुसाँस्कृतिक खाना तथा हुर्रालगायत विविध बहुसाँस्कृतिक मनोरञ्जन दिलाउने योजनासमेत बनाएको छ। योसँगै रिसोर्टमा नेचर टुर, घोडचढी, हाइकिङ, बर्ड वाचिङ, साइक्लिङको व्यवस्थासमेत हुने जनाएको छ।
एक सय जनालाई रोजगारी, स्थानीय उत्पादन लिने
रिसोर्ट सञ्चालनमा आएसँगै प्रत्यक्ष रुपमा एक सय जनाभन्दा बढीले रोजगारी पाउने छन्। त्यसका लागि सबैभन्दा पहिला स्थानीय स्तरबाटै रोजगारीका लागि प्राथमिकतामा राख्ने योजनासमेत ग्रुपले बनाएको छ।
यस्तै, स्थानीय स्तरमा उत्पादन हुने उत्पादनहरुलाई रिसोर्टले लिने गरी स्थानीयहरुसँग सम्झौतासमेत गरिसकेको छ। उत्पादन भएका वस्तुहरुले बजार नपाएर कृषकले बारीमा तरकारीहरु कुहाउनुपर्ने बाध्यतलाई अन्त्य गर्दै रिसोर्टले प्रवद्र्धनसमेत गरिदिने व्यवस्था गरिएको जनाएको छ।
क्यासिनो पनि सञ्चालनमा आउने
पूर्वी नेपाल हुुँदै आउने भारतीय पर्यटकहरुलाई लक्षित गरी रिसोर्टमा क्यासिनोसमेत सञ्चालन गर्ने योजना ग्रुपले बनाएको छ। बिदा मनाउन आउने विदेशी पर्यटकहरुलाई लक्षित गरी क्यासिनो सञ्चालन गर्ने तयारी थालिएको जनाएको छ। क्यासिनो भने होटलले भाडामा दिनेछ।
रिडीको ड्रिम प्रोजेक्ट
ग्रुपका अध्यक्ष बुढाले धनकुटामा निर्माणाधीन रिसोर्ट ग्रुपकै ड्रिम प्रोजेक्ट भएको बताए। नेपालको सातै प्रदेशमा लगानी विस्तार गर्ने योजनाको साथ करिब एक हजार जना लगानीकर्ताहरु रहेको ग्रुपअन्तर्गत रिडी ग्रुप लिमिटेड, रिडी नाम्जे इको रिसोर्ट, रिडी सोप एण्ड केमिकल उद्योग, रिडी बोक्टान प्रा.लि., रिडी लाउञ्ज, रिडी राप्ती ग्रुप प्रा.लि., गोर्खा डेभलपर्स र गोर्खाज होटल रहेको छ।

योमध्ये गोर्खाज होटल पाँचतारे हुने र गोर्खा डेभलपर्समा अपार्टमेन्ट बनाउने योजना रहेको जनाएको छ। होटल र अर्पाटमेन्टको डिपिआर अहिले तयार भइरहेको अध्यक्ष बुढाले जानकारी दिए।
नामन्ता हस्पिटालिटीले लियो व्यवस्थापन
रिसोर्ट व्यवस्थापनको जिम्मेवारी नामन्ता हस्पिटालिटीले लिएको छ। काठमाडौंमा विभिन्न रेष्टुरेन्ट र होटलको व्यवस्थापन गर्दै आएको नामन्ताले २०८२ मंसिरदेखि सो रिसोर्टको व्यवस्थापनको जिम्मेवारी सम्हालेकोहस्पिटालिटीका अध्यक्ष विष्णु मगरले जानकारी दिए।
काठमाडौंको पाँचतारे होटल म्यारियट र हिल्टनमा सेफ भएर काम गरिसकेका मगरले विगत केही वर्षदेखि विभिन्न होटल तथा रेष्टुरेन्टहरुको व्यवस्थापन गर्दै आएको छ।