काठमाडौं। नेपाल बीमा प्राधिकरणले चार वर्षअघि बिमा कम्पनीलाई चुक्ता पुँजीको समयसीमा लागू गरे पनि जीवन र निर्जीवन गरी हालसम्म ९ वटाले नपुर्याएको देखिएको छ। जीवन बिमा कम्पनीले ५ अर्ब र निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम् चुक्तापुँजी कायम गर्नुपर्ने प्रावधान छ।
प्राधिकरण तथ्यांकअनुसार १४ जीवन बिमा कम्पनीमध्ये पाँचवटाले तोकिएको न्यूनतम् चुक्ता पुँजी पुर्याउन सकेका छैनन्। जीवन बिमातर्फ राष्ट्रिय जीवन बिमा कम्पनीले चुक्ता पुँजी पुर्याएको छैन। अन्य निजी कम्पनीले चुक्ता पूँजी पुर्याइसकेको छन्। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको भने १८ करोड १० लाख रूपैयाँ मात्रै पूँजी छ। कम्पनीले न्यूनतम् पाँच अर्ब पुँजी कायम गर्नुपर्छ।
यस्तै, निर्जीवन बिमातर्फ चार कम्पनीको चुक्तापुँजी पुगेको छैन। हाल नेपालमा १४ निर्जीवन बिमा कम्पनी छन्। उनीहरुले प्रतिकम्पनी २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्छ।
तथ्यांकअनुसार १० निर्जीवन बिमा कम्पनीले न्यूनतम दुई अर्ब ५० करोड न्यूनतम पुँजी कायम गरेका छन्। तर, चार कम्पनीले अझै न्यूनतम् पूँजी कायम गरेका छैनन्।
सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको १८ अर्ब १० करोड २० लाख, सानिमा जीआईसीको २ अर्ब १५ करोड, प्रभु इन्स्योरेन्सको एक अर्ब ७० करोड र युनाइटेड अजोड इन्स्योरेन्सको दुई अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी छ।
यस्तै, पुनर्बिमा कम्पनीले न्यूनतम् २० अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने भनिए पनि हाललाई स्थगित गरिएको छ। हाल नेपाल रिको १३ अर्ब ४२ करोड २१ लाख र हिमालयन रिको १० अर्ब ८६ करोड ८० लाख बराबरको चुक्ता पुँजी छ।
