काठमाडौं। माछापुच्छ्रे बैंकको खुद नाफा २५.२५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको ६ महिनामा ८० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले चालु वर्षको सोही अवधिमा १ अर्ब १ करोड ११ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो।
बैंकद्वारा सार्वजनिक चालू वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकले ४३ करोड ६३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो।
चालू वर्षको ६ महिनामा आर्जित नाफाबाट बैंकले लगानीकर्तालाई ७.२२ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ। चालू वर्षको अन्त्यसम्म यो क्षमता अझै बढ्ने सम्भावना छ। यस्तै, चालू वर्षको ६ महिनामा बैंकले कुल २ खर्ब ४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
यसबाट बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो। गत वर्षको सोहीअवधिमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो।
साथै, बैंकले चालू वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ४५ करोड २६ लाख रुपैयाँ खुद सञ्चालन नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले यस्तो नाफा ३ अर्ब ४९ ५२ करोड रुपैयाँ कमाएको थियो। समीक्षा अवधिमा बैंकले निष्कृय कर्जा समेत घटाएको छ। बैंकले एक वर्षको अवधिमा कुल निष्कृय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशत र खुद निष्कृय कर्जा ०.५६ प्रतिशतले घटाएर १.४१ प्रतिशत कायम गर्न सफल भएको हो।
उक्त अवधिमा बैंकको प्राथमिक पुँजी अनुपात ८.८२ प्रतिशत, कुल पुँजी पर्याप्तता अनुपात १२.१६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १६.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.६१, तरलता अनुपात ३१.८७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.९९ प्रतिशत, बेसरेट ५.४८ प्रतिशत र स्प्रेड दर ३.८३ प्रतिशत कायम छ।