काठमाडौं । सरकारले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि बिजुलीको माग बढ्न थालेको छ । उद्योग व्यवसाय बन्द हुँदा घरायसी प्रयोजनाका लागि पिकआवरमा औसत साढे ९०० मेगावाट बिजुलीको माग भएकोमा अहिले बढेर १ हजार मेगावाट नजिक पुगेको छ ।
बिजुलीको खपत बढेपछि भारतबाट हुने आयातमा पनि वृद्धि भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । हाल बिजुलीको माग बढेर पिक आवरमा ९८४ मेगावाट पुगेको छ । यस्तै भारतबाट १५३ मेगावाट बिजुली आयात भएको छ । विस्तारै बिजुलीको माग बढ्दै गएको छ ।
लकडाउन खुकुलो नहुँदा भारतबाट बढीमा १०० मेगावाट हारहारीमा बिजुली आयात हुने गरेको थियो । लकडाउनले बिजुलीको माग कमी आएपछि विद्युत प्राधिकरणले भारतबाट आयात घटेको थियो । अहिले बढ्दै गएको छ ।
विद्युत प्राधिकरणले सुख्खायाममा ६०० मेगावाटसम्म बिजुली भारतबाट आयात गरिरहेको थियो । वर्षाद लागेकाले आन्तरिक उत्पादन बढ्ने र बिजुलीको आयात सुख्खायामको जस्तो हुँदैन ।
अहिले प्राधिकरणका आयोजनाहरुबाट ५०२ र निजी उत्पादकबाट ३२७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । अन्य अवस्थामा बिजुलीको माग १ हजार २०० मेगावाट हारहारीमा हुने गरेको थियो ।
लकडाउन खुकुलो भएपछि केही मात्रमा बिजुलीको माग बढेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउँछन । यद्यपी बढी बिजुली खपत हुने होटल बन्द रहेका छन ।
होटललगायत अझै अधिकाँश उद्योग सञ्चालनमा आउन नसकेकाले माग ह्वातै बढ्ने अवस्था देखिन्दैन । होटलहरु आगामी असोजसम्म बन्द हुने भएका छन । बढी बिजुली खपत गर्ने सिमेन्ट, डन्डीलगायत ठुला उद्योगहरु सञ्चालनमा आएका छैनन । गएको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उद्योग खोल्न दिने निर्णय गरेको थियो ।
खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु, दुध तथा दुग्धपदार्थ उत्पादन, औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन, खाने पानी उत्पादन गर्ने, इँटा उद्योग, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन, खाने तेल तथा घ्यू, चिनी, सिमेन्ट र डण्डीलगायत सबै प्रकारका उद्योगहरु सरकारले खुला गरेको छ ।