काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारणसभा स्थगित भएको छ। निर्वाचन आयोगको निर्देशनअनुसार साधारणसभा स्थगित महासंघले जानकारी दिएको हो। आयोगको अर्को सूचना नआउन्जेल माघ १५, १६ र १७ गते हुने भनिएको महासंघको २६औं साधारणसभा स्थगित भएको हो।
आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ५ गते राती १२ बजेदेखि आचारसंहिता लागू भएको छ। महासंघका महासचिव रोशन दाहालका अनुसार माघ १५, १६ र १७ गते हुने भनिएको साधारणसभा नगर्ने निर्णय आचारसंहिता लागू भएको कारणले गरिएको हो।
‘अहिलेलाई स्थगित गरिएको छ। तयारी पूरा भइसकेको अवस्थामा समेत हामीलाई अलिकति दुःख लाग्यो,’ उनले भने, ‘तर राज्यको कानुन र आचारसंहितालाई मान्नैपर्छ।’
महासंघले नयाँ नेतृत्व चयन एवं साधारणसभा फागुन २१ गतेअगावै तय गरेको थियो। महासंघको चुनावी तालिकाअनुसार माघ १५ गते उद्घाटन, १६ गते मनोनयन दर्ता र १७ गते मतदानको कार्यक्रम तय भएको थियो। आउँदो साता हुने महासंघको चुनावी मैदानमा दुई प्यानलले प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार घोषणा भइसकेका थिए।
महासंघको १५औं महाधिवेशन काठमाडौंमा हुने तयारी भइसकेको थियो। महाधिवेशन प्रतिनिधिबाट चुनिने नयाँ नेतृत्वका लागि अहिले अध्यक्ष बन्न सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे(एडी) लामाबीच प्रतिस्पर्ध हुने निश्चित थियो।
यसअघि अध्यक्ष बन्न सल्लाहकार पाण्डे, वरिष्ठ उपाध्यक्ष लामा र महासचिव रोशन दाहाल आकांक्षी देखिएका थिए। तर तीनवटा प्यानल बन्ने चर्चा चले पनि हाललाई महासचिव दाहाल र लामाको समूह मिलेर एउटै प्यानल बनेपछि मुख्य प्रतिस्पर्धा दुई समूहबीच हुने देखिएको थियो। महासचिव दाहाल लामालाई अध्यक्ष बनाउने सर्मथन गर्दै वरिष्ठ उपाध्यक्षमा दाहालले उम्मेद्वारी दिने भएका छन्।
यस्तै, लामा प्यानलमा आगामी नेतृत्वका लागि महासचिव पदमा शिवहरि घिमिरे, कोषाध्यक्षमा बालाजु श्रेष्ठ चुनावी मैदानमा उत्रने महासंघ स्रोतले जनाएको छ। सल्लाहकार पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा मुकेश पन्त, महासचिव पदमा मंगल शाही र कोषाध्यक्षमा उज्ज्वल गौतम आगामी नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। महाधिवेशनमा दुई हजार बढीको जमघट हुने महासंघले जनाएको थियो।