मोरङर। सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ।
आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एक लेन कालोपत्रे सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए। निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए।
प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमि सडक मात्र ठेक्का लागेर काम भइरहेको छ। पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे।
हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्रे सकिएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।
निर्माण सामग्री उपलब्धतामा सहज भए कामले तीव्रता पाउने पन्तको भनाइ छ। पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए।
बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ।
एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरु भएको हो ।
यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ। बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ।–रासस