काठमाडौं। दैलेखका विभिन्न सामुदायिक वनमा साल प्रजातिमा व्यापक रूपमा पात झर्ने (डिफोलिएसन) समस्या देखिएपछि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले प्रारम्भिक स्थलगत अध्ययन गरेको छ। केन्द्रका उपसचिव सुनिता उलकको संयोजकत्वमा तीन सदस्यीय विज्ञ टोली गठन गरी स्थलगत अध्ययन गरिएको हो।
टोलीमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर प्रेम बुढा र केन्द्रका अनुसन्धान अधिकृत प्रतीक पाण्डेय सदस्य थिए। टोलीले कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी कर्णाली प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय दैलेखको संयुक्त सहभागितामा स्थलगत अवलोकन गरिएको जनाएको छ।
अध्ययनका क्रममा किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान, बेलपाटा, साडु छहरे जमुने र टोर्या वनलगायत क्षेत्रका सामुदायिक वनमा साल वन व्यापक रूपमा प्रभावित भएको पाइएको छ। विशेषगरी किमुगाउँ र चुप्रा क्षेत्रका दुई सामुदायिक वनमा प्रत्यक्ष अवलोकन गरिएको थियो।
अवलोकनमा कपालयुक्त लार्भा अवस्थाका पात खाने कीराबाट गम्भीर क्षति पुगेको देखिएको छ। पश्चिमी र दक्षिणी मोहडामा क्षतिको मात्रा बढी रहेको टोलीको निष्कर्ष छ।
अवलोकन समय जीवित लार्भा वा वयस्क किरा नभेटिएको उपसचिव उलकले बताइन्। तर, कीराबाट छाडिएका छाला र प्युपाका खोल प्रशस्त मात्रामा फेला परेको उनको भनाइ छ।
अध्ययनमा उल्लेख भएअनुसार क्षति पुर्याउने कीरा सम्भवतः एउटै वा सीमित केही प्रजातिका हुन सक्ने अनुमान छ। प्रारम्भिक रूपमा देखिएका लार्भाको प्रजाति पहिचानका लागि प्रयोगशाला परीक्षण आवश्यक रहेको उल्लेख छ।
स्थानीयका अनसार करिब पाँच महिनाअघि असोजदेखि कीरा देखिन थालेको र क्रमशः सबै पात नष्ट भएको उनले बताइन्। प्रारम्भिक चरणमै रिपोर्टिङ नहुँदा नियन्त्रणका लागि ढिलो भइसकेको अवस्था देखिएको टोलीको छ।अत्यधिक प्रभावित क्षेत्रमा सालका रूखमा समयअगावै नयाँ कोपिला पलाउन थालेको पाइएको उपसचिव उलकले बताइन्।
टोलीले हालको प्रकोपलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै कारण ठहर गर्न पर्याप्त वैज्ञानिक प्रमाण नभए पनि लामो खडेरी, हिउँदे वर्षा नहुनुजस्ता मौसमी अवस्थाले प्रकोप बढ्न अनुकूल वातावरण सिर्जना गरेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरेको छ।
तीन वर्षअघि पनि यस्तै प्रकोप देखिएको र वर्षापछि स्वतः घटेको अनुभव स्थानीयको भनाइ रहेको अध्ययन टोलीको निष्कर्ष छ।
केन्द्रले यस्ता प्रकोप दैलेखमा मात्र सीमित नरही समान पारिस्थितिक अवस्था भएका अन्य साल वनमा पनि देखिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। प्रारम्भिक चरणमै डिभिजन वन कार्यालय र प्राविधिक निकायलाई जानकारी गराउन समुदायलाई अनुरोध गरिएको छ।
प्रकोप व्यवस्थापनका लागि प्रकाश पासो (लाइट ट्र्याप) प्रयोग गरी वयस्का कीराको संख्या घटाउने, भदौ–असोजमा वन सफाइ र छटाइ कार्य गर्न सुझाइएको छ। यसले प्रारम्भिक लार्भा अवस्थालाई नियन्त्रण गरी पछिल्लो चरणमा हुने गम्भीर क्षति कम गर्न सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ।