काठमाडौं। अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौँ तह) भरत कुमार आचार्यले पदीय मर्यादाविपरीत काम गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदातलमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको जनाएको छ।
आचार्यले पदीय मर्यादाविपरीत काम गरी सम्पत्ति जोडेको देखिएको आयोगको दाबी रहेको छ। उनले आफ्नो सेवा अवधिमा ३ करोड ५१ लाख आठ हजार २१० रूपैयाँ बराबरको वैध आयआर्जन गरेको देखिन्छ। तर, सोही अवधिमा ६ करोड ७८ लाख ९१ हजार पन्ध्र रूपैयाँ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ।
एकाघर परिवार र संगोलमा रहेका व्यक्तिहरूको आम्दानी तथा खर्चको विश्लेषण गर्दा आचार्यको पारिश्रमिक र तलब, दैनिक भ्रमण भत्ता, स्थानिय भत्ता, बैठक भत्तालगायत अन्य भत्ता बापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, निजको श्रीमती लिली सुवेदीको पारिश्रमिक बचत, बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त कर्जा बापतको रकम, घर बहालबाट प्राप्त आय, विभिन्न फर्म र कम्पनीहरूमा गरेको लगानीबाट प्राप्त गरेको नाफा रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भएको मौज्दातमा प्राप्त ब्याज आय र बिभिन्न व्यक्तिगतहरूबाट बैंकिङ्ग माध्यमबाट प्राप्त रकमसमेत गरी निज तथा निजका एकाघर परिवारका सदस्यहरूले जाँच अबधिमा बैधानिक रूपमा ३ करोड एकाउन्न लाख आठ हजार दुई सय दश रूपैयाँ अठार पैसा आय आर्जन गरेको देखिएको थियो।
आचार्यको जाँच अवधिको कूल आयबाट सोही अवधिको कूल व्यय (खर्च तथा लगानीसमेत) घटाउँदा ६ करोड ७८ लाख ९१ हजार पन्ध्र रूपैयाँ कूल वैधानिक आयभन्दा कूल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएको आयोगले जनाएको छ।
उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य आचार्यले प्रचलित कानुन बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, निजले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा उनले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती लिली सुवेदीको नाममा सम्पत्तिहरू खरिद गरेको देखिएको आयोगले जनाएको छ।
आयोगले आरोपी आचार्य र श्रीमती सुवेदी उपर पौने ७ करोड बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।