काठमाडौं । सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका बैंकर–उद्योगी एकै ठाउँमा आएर समस्या समाधान गर्न जुटेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएका निर्देशनलाई बैंकहरुले लत्याउँदै आएको आरोप उद्योगीले लगाउँदै आएका थिए ।
यस्तै उद्योगीले पनि वास्तविक नाफा लुकाएको आरोप लगाउँदै आएका थिए । बैंकर र उद्योगी सार्वजनिक रुपमा एक अर्काको विरोधमा उत्रिएपछि सोमबार एउटै फोरममा जम्मा भएर अघि बढ्न सहमत भएका छन् ।
उद्योगीले अहिलेको दुखद् अवस्थामा बैंक पनि त्यसको हिस्सेदार बनोस् भन्दै आएका थिए । सबै क्षेत्र ऋणात्मक हुने अवस्था हुँदा पनि बैंक आफ्नो नाफा घट्छ कि भन्नेमा बढी चिन्तामा लागेको उद्योगीले आरोप लगाएका थिए । ती सबै विषयमाथि सोमबार बैंकर र उद्योगीबीच छलफल गरेर एउटा समिति बनाएर अघि बढ्न समहत भएका हुन्।
बैंक र उद्योगी एकअर्काका परिपूरक हुन् । तर, पछिल्ला केही दिन यता उद्योगी र बैंकरबीच तिक्तता आएको छ । राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई केही राहत दिन मौद्रीक नीतिका उपायहरु अवलम्बन गरेपछि उद्योगीसँग बैंकर आक्रोसित बनेका हुन् ।
चैत मसान्तमा ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिनुपर्ने, २ प्रतिशत विन्दुले ब्याज घटाउनुपर्ने लगायतका निर्देशन केन्द्रीय बैंकले ल्याएको थियो । तर, त्यसलाई अधिकांश बैंकले पालना नगरेको उद्योगीले बताएका थिए ।
तर, बैंकरले उद्योगीले लगाएको आरोपमाथि सत्यता नभएको बताएका छन् । राष्ट्र बैंकले जुन जुन निर्देशन ल्याएको छ । त्यसलाई कार्यान्वयन गरेको बैंकरले बताएका छन् ।
कोरोना भाइरसबाट बैंकहरू पनि पीडित बनेका छन् । बैंकको खर्च बढेको बढ्यै छ । यतातिर पनि सोच्नुपर्ने बेला भएको बैंठकमा सहभागी केही बैंकरले धारणा राखेका थिए ।
उद्योगी र बैंकरबीच सम्बन्ध सुधारका लागि प्रयास सुरु भएको छ । केही समययता उद्योगी र बैंकरबीच दुरी बढेपछि यसलाई समधान गर्नका लागि सोमबार छलफल भएको हो ।
दुरी कम गर्ने र उठेका मुद्धालाई समधान गर्न एक संयुक्त समिति बनाउने सहमति भएको छ । समितिले दुबै पक्षका समस्याका लागि पहल गर्ने छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बैंक र उद्योगी एक अर्काका परिपूरक भएकाले मिलेर जाने सहमति भएको बताइन् । ‘बैंकका समस्या पनि भिडियो मिटिङमा उठे, उद्योगीले पनि आफ्ना समस्या राखे’ राणाले भनिन्, ‘दुवैका समस्यालाई आगामी दिनमा मिलेर समस्या समाधान गर्ने भन्ने भएको छ ।’
उनका अनुसार बैंकले केन्द्रीय बैंकले दिएका निर्देशन पालना नभएको विषयमा कुरा उठेको थियो । ‘बैंकरले केन्द्रीय बैंकले ल्याएको निर्देशन कुन बैंकले पालना गरेर, त्यसको नाम दिनुस्, त्यो बैंकलाई कार्यान्वयन गर्न हामी पनि दबाब दिन्छौं भनेर बैंकरले भन्नु भएको छ,’ राणाले भनिन् ।
ब्याज छुटले बैंककाे नाफामा १४ कराेडले कमी हुनेे, बैंकरकाे व्यर्थ रोइलो
पछिल्लो समयमा ब्याजदरका विषयमा बैंकर र उद्योगीबीच असमझदारी बढेपछि सोमबार छलफल भएको हो । छलफलले उद्योगी र बैंकरबीच देखिएका असमनतालाई हटाउन संयुक्त समिति बनाउने निर्णय भएको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवनकुमार दाहालले बताए ।
उनका अनुसार समितिको गठन मंगलबार हुने भएको छ । समितिले बैंकर र उद्योगीबीच देखिएको असमझदारीको अन्त्य गरी साझा धारणा बनाउने भएको छ ।