काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएका सुविधाहरु उद्योगी/व्यवसायीहरुलाई उपलब्ध गराउन बैंकहरु सहमत भएका छन । बैंकर र उद्योगीबीचको वाकयुद्धलाई अन्त्य गर्दै राष्ट्र बैंकले ल्याएका सुविधा दिन बैंकहरु तयार भएका हुन ।
कोरोना भाइरस (कोभिड १९ ) महामारीबाट देशको अर्थतन्त्र डामाडोल बनेपछि त्यसलाई जोगाउन केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही राहतको प्याकेज ल्याएको थियो । तर, त्यसलाई बैंकहरुले पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन । तर, सोमबार भएको छलफलपछि बैंकहरु सम्पूर्ण सुविधा दिन सहमत भएको छलफलमा सहभागी एक बैंकरले बताए ।
आरोप प्रत्यारोपमै उत्रिएका बैंकर/उद्योगी एक ठाउँमा, संयुक्त समिति बनाउने निर्णय
चैत मसान्तमा ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिनुपर्ने केन्द्रीय बैंकले निर्देशन ल्याएको थियो । तर, अधिकांश बैंकले उक्त निर्देशनलाई पूर्ण रुपमा परिपालना गरेका थिएनन । त्यसैगरी, ऋणको ब्याज २ प्रतिशत घटाउन पनि बैंकहरु राजी भएका थिएनन । केन्द्रीय बैंकले ल्याएको निर्देशनलाई पालना नगरेपछि उद्योगीहरु बैंकको विरुद्धमा बोल्न थालेका थिए ।
सोमबार भएको छलफल पनि बैंकरले केन्द्रीय बैंकको निर्देशनलाई परिपालन गर्ने बताएका छन । ‘कतिपय बैंकले अहिले पनि पूर्ण रुपमा पालना गरेका छन,’ छलफलमा सहभागी एक सीईओले भने, ‘दिनुपर्ने सुविधा पनि दिएका छन, यदि कुनै बैंकले त्यस्ता सुविधा दिएका छैनन, भने हामीलाई त्यो बैंकको नाम भन्नुहोला । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले उक्त बैंकसँग कुरा गर्छ भन्नेसम्म छलफल भएको छ ।’
सहवित्तीयकरण (कन्सोर्टियम) कर्जामा एउटा बैंकले ब्याज घटाइसके तर, अर्काे साझेदार बैैंकले अहिलेसम्म ब्याज घटाएको छैन, । त्यही ऋणलाई एउटा बैंकले ब्याज घटाउने अर्काले नघटाउने गर्न मिल्छ ? भन्नेसम्म छलफलमा प्रश्न उठेको थियो ।
केन्द्रीय बैंकले कुन क्षेत्रमा दिएको ऋणको ब्याज घटाउने र कुन क्षेत्रमा लिएको ऋणको ब्याज नघटाउने भन्नेमा प्रष्ट व्यवस्था गरेको छ । तर, बैंकहरुले त्यसलाई मनलागी ब्याख्या गरेको छलफलमा सहभागी एक उद्योगीले बताएका थिए ।