मुस्ताङ। मंगलबार रातीदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्य भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ।
सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँगै स्याउ, उवा, फापर, जौ, आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।
त्यसैगरी सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मंगलबार रातीदेखि नै बाक्लो हिमपात भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
यसैबीच बाजुरका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ।
हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ। वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए।
बैतडी र बागलुङमा हिमपातले जनजीवन प्रभावित
बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो। हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।
यसैगरी ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। गए रातीदेखि बाक्लो हिउँ परेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएका छन्
हिमपातका कारण धारामा पानी जमेको छ। निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ। हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानले व्यक्त गरेका छन्।–रासस