काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा गत कात्तिक २७ मा मागिएको महाप्रबन्धक पदका लागि संक्षिप्त छनोटमा परेका १० उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता आजदेखि सुरु भएको छ। माघ ४ मा संक्षित सूची सार्वजनिक गरिएपछि आज र बिहीबार अन्तर्वार्ताको मिति तोकिएको हो।
नियुक्ति गर्न आवेदकको प्रस्तुतीकरण र अन्तरवार्ता सुरु भएको छ। सरकारबाट पर्यटन सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक नियुक्ति छनोट समितिले २७ कात्तिकमा आवदेन माग गरेको थियो । १६ जनाको आवेदन परे पनि छनोट समितिले १० जनाको संक्षित सूची गत माघ ४ मा सार्वजनिक गरेको थियो।
बुधबार र बिहीबार संक्षिप्त सूचीमा परेका १० उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता सुरु भएको पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले बताए । १० जनामध्ये पाँच जनाको आज र बिहीबार अन्तर्वार्ता हुनेछ।
आवेदन माग्नासाथ अदालतमा मुद्दा परेपछि रोकिएको महाप्रबन्धक नियुक्ति प्रक्रियाविरुद्धको रिटमाथिको सुनुवाइका लागि फागुन ४ मा पेशी तोकिएको छ।
निगमको महाप्रवन्धक नियुक्तिमा १६ जना आवेदकले आवेदन दिएसँगै निगमका पूर्वकर्मचारी अच्युतराज पहाडीले विज्ञलाई छेक्न खोजेको भन्दै ६५ वर्षे उमेरहद राख्न नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए। उक्त रिटमाथिको सुनुवाइका लागि पुस ३० मा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि फागुन ४ का लागि तोकिएको छ।
संक्षिप्त सूचीमा योगराज कँडेल शर्मा, उपेन्द्रबहादुर कार्की, टंकनिधि दाहाल, डा. दीपकप्रसाद बास्तोला, दीपुराज ज्वारचन, डा. भीमबहादुर चन्द, सन्तुष्टकुमार बस्नेत, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह रहेका छन्।
मुद्दा फैसला हुनुअघि नै छनोट प्रक्रिया सकिने आचार्यको भनाइ छ। निर्वाचन आचारसंहिता लागू भइसकेकाले निर्वाचन आयोगको सहमति लिएर मात्रै महाप्रबन्धक नियुक्ति घोषणा हुनेछ। समितिले सरकारलाई महाप्रबन्धक सिफारिस व्यक्तिको नाम दिएपछि नियुक्त हुनेछन्।