काठमाडौं। शेयर बजारमा बुधबार दिनभर बढाउने र घटाउनेबीच तीब्र रस्साकस्सी देखिएपनि अन्ततः बजार सामान्य अंकले बढेर बन्द भएको छ। बजार घटाउन दिनभरी प्रयत्नरत रहेका समूह अन्तिममा बिफल भएका छन्।
बजारमा नकारात्मक सन्देश प्रवाह गर्दै निरन्तर सेलिङ प्रेसर सिर्जना गर्ने प्रयास भइरहे पनि बजार सकारात्मक क्षेत्रमा बन्द हुन सफल भयो। लामो समयदेखि स्थिर रहेको बजारबाट निराश भएका लगानीकर्ताहरूले बल्लतल्ल बढेको अवसरमा नाफा बुक गर्न खोजेको पनि देखिएको छ। एकातिर लगानीकर्ताहरू नाफा लिन खोज्दा अर्कोतिर केही समूह बजार घटाउन निरन्तर सेलिङ प्रेसर सिर्जना गर्नमै लागेका थिए।
बजार विश्लेषकहरूका अनुसार बुधबार बजार टिक्नका लागि बढ्नै पर्ने अवस्था थियो। बजार बढेर बन्द भएकोले बजारप्रति सकारात्मक सन्देश गएको विश्लेषकहरू बताउँछन्। यसले आगामी कारोबार दिनहरूमा बजारमा स्थिरता कायम हुने सङ्केत दिएको छ।
बजार सामान्य अंकले बढे पनि कारोबार परिमाणमा भने केही गिरावट आएको छ। मंगलबार १४ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएकोमा बुधबार ११ अर्ब रुपैयाँभन्दा माथि मात्रै कारोबार हुन सफल भयो। यद्यपि, विश्लेषकहरूका अनुसार बजारलाई कारोबार परिमाणले अझै पनि राम्रो सर्पोट गरिरहेको छ।
बजार विश्लेषकहरूले हाल बजारका लागि धेरै सकारात्मक सूचकहरू रहेको बताएका छन्। देश चुनावमय अवस्थामा रहेको छ जसले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। त्यस्तै बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त मात्रामा रहेको छ र बैंकहरूले राम्रो वित्तीय विवरण प्रकाशित गरिरहेका छन्। यसका साथै बैंक ब्याजदर निकै संस्तो रहेको छ जसले लगानीकर्तालाई शेयर बजारतर्फ आकर्षित गर्न सक्ने विश्लेषकहरू बताउँछन्। यी सबै सूचकहरू बजारका लागि सकारात्मक मानिएको छ र यी कारकहरूले आगामी दिनमा बजारलाई थप बलियो बनाउन सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।
यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।