झापा। सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड ९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ। मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न पाउने उनी पहिलो छात्रा हुन्। उनले महिला कोटामा खुल्ला प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन्।
घरका खाना खाएर आँगनकै कलेजमा पढ्न पाउँदा आफ्नो सपना पूरा भएको उनी बताउँछन्। ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबिबिएस पढ्ने अवसर पाएका छन्।
बीएण्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना भएका छन्। जसमा जिल्लाका ऋतिका र देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन्। सन्तानलाई आफ्नै आँखाअगाडि डाक्टरी शिक्षा पढाउन पाउँदा अभिभावक पनि खुसी बनेका छन्।
एक दशकको प्रतीक्षापछि झापामा मेडिकल कलेज सञ्चालनको पहल भएको बल्ल पठनपाठन सुरु भएको हो। विसं २०८१ पुस २५ गतेदेखि एमबिबिएसको कक्षा सुरु भएको थियो। ०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएको यस संस्थाले लामो कानुनी अड्चन खेप्नुपरेको थियो।
अन्ततः सर्वोच्च अदालतले ०८० चैत १२ गते र पुनः २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यस कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो। कलेजका प्राचार्य प्रा.डा. उमेश शर्माका अनुसार पूर्वाधार र गुणस्तरका आधारमा यो कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्यमा छ।
बिर्तामोड ५ मा दुर्गा प्रसाईं, रामबाबु गिरी र इन्दिरा गिरीको करिब ६ अर्बको लगानीमा पूर्वाधार बनाई कलेज तथा अस्पताल सञ्चालनमा आएको हो। ०७१ मा ३०० शैय्याबाट सुरु भएको अस्पताल अहिले एक हजार शैय्यामा विस्तार भइसकेको छ।
कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले यहाँबाट उत्पादित मेडिकल जनशक्ति मुलुकमै उत्कृष्ट हुने विश्वास व्यक्त गरे। हाल मेचीनगर १२ धाइजनमा बेसिक साइन्स भवनमार्फत पठनपाठन भइरहेको छ भने विद्यार्थीका लागि छात्रवासको व्यवस्था गरिएको छ।
मेडिकल कलेज सञ्चालनमा आएसँगै बर्सेनि अर्बौं रुपैयाँ खर्चिएर मेडिकल शिक्षाका लागि विदेशिने विद्यार्थी र विदेशी मुद्रा रोकिने विश्वास लिइएको छ। आगामी वर्षदेखि विद्यार्थी कोटा बढेर ६० पुग्ने कलेज प्रशासनले जनाएको छ।