काठमाडौं। सन् २०२६ मार्चमा चीनको पावर तथा ऊर्जा भण्डारण ब्याट्री उत्पादन उल्लेखनीय बढेको छ। चीनको अटोमोटिभ ब्याट्री इनोभेसन एलायन्सले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा मात्र १७७.७ गिगावट आवर पुगेको छ।
यो अघिल्लो महिनाको तुलनामा २५.५ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.२ प्रतिशतले बढेको हो। सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा कुल उत्पादन ४८७.४ गिगावट आवर पुगेको छ, जुन वार्षिक आधारमा ४९.३ प्रतिशतले बढेको हो। ब्याट्री उत्पादन बढ्नुका साथै बिक्रीमा पनि उल्लेखनीय वृद्धि भएको छ।
चीनमा मार्चमा कुल ब्याट्री बिक्री १७५.१ गिगावट आवर पुगेको छ, जुन मासिक रूपमा ५४.७ प्रतिशत बढी हो भने वार्षिक रूपमा ५१.६ प्रतिशतले वृद्धि भएको हो। यसमध्ये पावर ब्याट्रीको हिस्सा ११४.७ गिगावट (६५.५ प्रतिशत) र ऊर्जा भण्डारण ब्याट्री ६०.४ गिगावट रहेको छ। पहिलो त्रैमासिकमा कुल बिक्री ४३७.१ गिगावट पुगेको छ, जुन ५२.९ प्रतिशतले बढेको हो।
निर्यातमा निरन्तर वृद्धि
मार्चमा कुल ब्याट्री निर्यात ३६.१ गिगावट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले बढी हो। यो कुल बिक्रीको २०.६ प्रतिशत हो। यसमध्ये पावर ब्याट्री २२.३ गिगावट आवर र ऊर्जा भण्डारण ब्याट्री १३.८ गिगावट आवर निर्यात भएको छ। पहिलो त्रैमासिकमा कुल निर्यात ८४.१ गिगावट आवर पुगेको छ, जुन ३६.७ प्रतिशतले वृद्धि हो।
इन्स्टलेसन ५६.५ गिगावट आवर, एलएफपी ब्याट्रीको वर्चस्व
मार्चमा घरेलु पावर ब्याट्री इन्स्टलेसन ५६.५ गिगावट आवर पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा ११४.९ प्रतिशतले बढेको भए पनि वार्षिक रूपमा ०.१ प्रतिशतले सामान्य गिरावट आएको छ। रसायनको आधारमा लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री ४५.८ गिगावट आवरसहित ८१ प्रतिशत हिस्सा ओगट्दै प्रमुख स्थानमा रहेको छ।
टर्नरी ब्याट्री १०.७ गिगावटमा मा सीमित छ। पहिलो त्रैमासिकमा कुल इन्स्टलेसन १२४.९ गिगावट आवर पुगेको छ, जुन ४.१ प्रतिशतले घटेको छ।
इलेक्ट्रिक गाडीको माग प्रमुख
चीनमा मार्च महिनामा ब्याट्री इन्स्टलेसनमध्ये ८२.७ प्रतिशत हिस्सा विद्युतीय सवारी (ईभी) बाट आएको छ भने प्लग–इन हाइब्रिड सवारीको हिस्सा १७.३ प्रतिशत रहेको छ। बजारमा ठूला कम्पनीहरूको वर्चस्व छ।
मार्चमा ३१ वटा कम्पनीले ब्याट्री इन्स्टलेसन गरेका छन्, जुन अघिल्लो वर्षभन्दा १० ले कम हो। शीर्ष १० कम्पनीहरूले कुल ५२.९ गिगावट आवर इन्स्टलेसन गर्दै ९३.६ प्रतिशत बजार हिस्सा ओगटेका छन्, जसले बजारमा केन्द्रीकरण बढेको देखाउँछ।
कम्पनीगत रूपमा सीएटिएल २५.७१ गिगावट आवर इन्स्टलेसन र ४५.५४ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा देखिएको छ। बिवाईडी १०.०६ गिगावट आवर (१७.८३ प्रतिशत सहित दोस्रो स्थानमा रहेको छ।
यी दुई कम्पनीले संयुक्त रूपमा ६३.३७ प्रतिशत बजार हिस्सा ओगट्दै चीनको ब्याट्री बजारमा आफ्नो प्रभुत्व कायम गरेका छन्।