काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्रदेशलाई सन्तुलन हुने गरी ठुला जलविद्युत आयोजना अघि बढाउन लागेका बताएका छन ।
उनले ६३५ मेगावाटको दुधकोसी जलासय, १०० मेगावाटको तामाकोसी ५, १२०० मेगावाटको बुढीगण्डकी, ४८ मेगावाटको भेरीबबइ आयोजना अघि बढाउन लागेको जानकारी दिए ।
यस्तै कर्णाली प्रदेशमा ४०० मेगावाटको जगदुल्ला, ४१० मेगावाटको नलगाड, ४२० मेगावाटको वेतनकर्णाली र पश्चिमसेतीलाई समेत जोडेर १ हजार मेगावाटको कर्णाली एसआरको काम अघि बढाउन लागेको उनले बताए । प्रदेशको सन्तुलन हुने गरी यी आयोजना अघि बढाएको उनले स्पष्टपारे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको छलफलमा बोल्दै ऊर्जामन्त्री पुनले संभाव्यता अध्ययनको काम पुरा गरी लगानी जुटाएर काम अघि बढाउने जानकारी दिए । उनले आगामी वर्ष विद्युत प्राधिकरणलाई खण्डीकरण गरेर वितरण प्रणालीको काम गर्ने जिम्मा प्रदेशलाई दिने तयारी भएको बताए ।
सबै प्रदेशमा स्रोत व्यवस्थापन गरेर आगामी २ वर्षमा देशभरी नै पुर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उनले सुनाए । सरकारले पूर्ण विद्युतीकरणका लागि स्रोतको व्यवस्थापन गरिसकेको छ ।
नयाँ विद्युत ऐन मन्त्रिपरिषदबाट पारित भएको छ । कानूनी रुप दिन संघीय संसदमा जाने क्रममा रहेको उनले जानकारी दिए । ‘पहिलो आउनेले मात्र आयोजना पाउने अवस्था थियो ।
अब, प्रतिस्पर्धाबाट जलविद्युतको अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने व्यवस्था ऐनमा गरिएको छ’ उनले भने । व्यापार पनि निजी क्षेत्रलाई खुला गरेको मन्त्रि पुनले बताए ।