काठमाडौं। प्रभु बैंकले काठमाडौं उपत्यकाका ९ वटासहित विभिन्न जिल्लाका १४ शाखा एकापसमा गाभिएको सूचना सार्वजनिक गरेको छ। बैंकले काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरेको हो।
बैंकले ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीका ३ तथा चितवनका १ शाखा समायोजन भएको छ। मोरङमा गोल्छाचोकस्थित शाखालाई तिनपैनी शाखामा मर्ज गरिनेछ। कास्कीमा अर्घौचोकस्थित शाखा तालचोकमा रहेको शाखामा, हरिचोकस्थित शाखा बगर शाखामा तथा नयाँगाउँस्थित शाखा अमरसिंह चोक शाखामा समायोजन गरिएको हो।
यस्तै, चितवनको बेलचोकस्थित शाखा लायन्स चोक शाखामा मर्ज गरिएको छ। ललितपुरमा पाटनस्थित शाखा मंगलबजार शाखामा तथा सातदोबाटोस्थित एक शाखा सोही क्षेत्रको अर्को शाखामा समायोजन गरिएको हो।
काठमाडौं जिल्लामा बौद्धस्थित शाखा बौद्धकै अर्को शाखामा, बागदरबारस्थित शाखा खिचापोखरी शाखामा, नरेफाँटस्थित शाखा कोटेश्वर शाखामा, सिनामंगल एयरपोर्टस्थित शाखा सिनामंगलकै अर्को शाखामा, मित्रपार्कस्थित शाखा चावहिल शाखामा, टेकुस्थित शाखा कालीमाटी शाखामा तथा पुतलीसडकस्थित शाखा कमलादी शाखामा मर्ज गरिएको बैंकले जनाएको छ।
सेवा प्रभावकारिता अभिवृद्धि, लागत व्यवस्थापन तथा ग्राहकलाई अझ प्रभावकारी सेवा दिने उद्देश्यले शाखा समायोजन गरिएको बैंकको सूचनामा उल्लेख छ।
