काठमाडौं। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अधिकांशले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। यस अवधिमा बैंकहरुको मुनाफा खुम्चिए पनि अन्य वित्तीय सूचक औषतमा वृद्धि उन्मुख देखिएका छन्।
यद्यपि बैंकको नाफा संकुचन हुनुमा पर्याप्त तरलता, ऋण लगानी माग नहुनु, राजनीतिक अस्थिरता, पुँजी बजारको ओरालोलगायतले भूमिका खेल्दै आएका छन्।
यो अवधिमा वाणिज्य बैंकहरुको मुनाफा साढे ३० अर्बमाथि पुगेको छ। बैंकहरुको दोस्रो त्रैमासिक नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको हो।
वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा वाणिज्य बैंकहरुको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार थियो।
चालू आव पुससम्मको दोस्रो त्रैमासिकमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो बनेको छ। नबिलको पुससम्मको नाफा ४६.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड पुगेको छ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बमा रहेको ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड थियो।
कुमारी बैंकको नाफा रेकर्ड ब्रेकमा पुगेको छ। बैैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो। गत आर्थिक वर्ष सो अवधिमा बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा सीमित थियो।
दोस्रो त्रैमास अवधिमा एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइमको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड, एनएमबीको १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाको ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ।
पुससम्म सिद्धार्थ बैंकको सञ्चालन नाफा ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख पुगेको छ। सानिमा बैैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्ट्यान्डर्ड चार्टर्डको १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, हिमालयनको १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआईको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभुको २४ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रेको २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजनको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एसिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक भई २७ करोड ३६ लाख रुपैयाँ छ।