काठमाडौं। राजधानीका विभिन्न स्थानमा रातिको समयमा लुटपाट र आतंक मच्चाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि चलाइएको विशेष ‘सर्च अपरेसन’ का क्रममा पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार उनीहरुले विशेषगरी रातको १२ बजेदेखि बिहान ४ बजेसम्मको समयमा पैदलयात्रीलाई लक्षित गरी लुटपाट गर्ने गरेका थिए। पक्राउ पर्नेमा गिरोहका नाइके विनय तामाङसहित आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
पक्राउ गर्ने क्रममा प्रहरी र लुटेरा समूहबीच दोहोरो झडपसमेत भएको थियो। सो क्रममा प्रहरी र गिरोहका नाइके विनय तामाङ घाइते भएका छन्। तामाङ यसअघि पनि बूढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका थिए। उनी गत भदौ २४ गते हिरासतबाट फरार भएपछि नयाँ समूह बनाएर लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उक्त गिरोहले लुटपाटका क्रममा महिलाहरूले लगाएका सुनका गहना थुत्ने क्रममा कान नै लुछेर लैजाने गरेको एसएसपी थापाले जानकारी दिए। हालसम्म उनीहरुविरुद्ध स्वयम्भू, महाराजगञ्ज, बूढानीलकण्ठ, बौद्ध, गौशला र भक्तपुरको ठिमी क्षेत्रबाट गरी कुल २७ वटा जाहेरी दर्ता भइसकेका छन्। उनीहरूको साथबाट प्रहरीले ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गरगहना र नगद समेत बरामद गरेको छ।