मुस्ताङ। गत मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ। भारी हिमपातका कारण बुधबारदेखि यो नाकाबाट हुने आयात निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो। यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ। लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ।
हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ। चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन्।
कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ। हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताए। कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए।
छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन्। हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ।
माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ। चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ।