काठमाडौं। पछिल्लो केही वर्षयता काठमाडौं उपत्यकासहित देशभर सस्तो जग्गा खोज्नेहरूको संख्या बढ्न थालेको छ। घर जग्गाको कारोबार विस्तारै उकालो लागिरहेको बेला प्रतिआना १० देखि १५ लाखसम्मको जग्गामा सबैभन्दा धेरै चासो र बिक्री हुने गरेको हो।
लामो समयदेखि काठमाडौं उपत्यकाभित्र जग्गा विकास आयोजना निर्माण गरी बिक्री वितरण गर्दै आएको लिजेण्ड प्रोपर्टीका प्रबन्ध निर्देशक रविन चाम्लिङले सस्तो जग्गा खोज्नेहरूको संख्या बढिरहेको बताए।
‘बजारमा अहिले प्रतिआना १० देखि १५ लाखसम्मका जग्गाहरू खोज्नेहरूको संख्या बढेको छ,’ प्रबन्ध निर्देशक राईले भने, ‘भरखरै जागिर सुरु गरेकादेखि खाडी मुलुकमा काम गरेका परिवारहरूले बढी चासो देखाइरहेका छन्।’
सस्तो जग्गा खोज्नेहरूमा नेपाल प्रहरीका जवान, नेपाली सेनाका जवानहरू, बैंक तथा वित्तीय संस्थामा काम गर्ने तल्लो तहका कर्मचारीहरु र मलेसिया, दुबई, कतार, साउदी अरबलगायतका मुलुकमा कामका लागि गएका परिवारहरु रहने गरेको उनले बताए।
सरकारी तथ्यांकअनुसार पनि गत वर्षको तुलनामा यो वर्ष घर जग्गाको कारोबार केही उकालो चढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा उत्साहजनक रूपमा तंग्रिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबार प्रवृत्ति तथा स्थिति प्रतिवेदनले राष्ट्रिय स्तरमा घरजग्गाको कारोबार संख्या, कुल मूल्य र यसबाट उठ्ने राजस्वमा उल्लेख्य वृद्धि देखाएको छ।
समीक्षा अवधिमा घरजग्गाको कुल कारोबार संख्या गत वर्षको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। जबकि, अघिल्लो वर्ष यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। तथ्यांकले देखाएअनुसार समीक्षा अवधिमा कुल १ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ७ करोड रुपैयाँको तुलनामा झन्डै ८३ प्रतिशतले बढी हो।
अहिले काठमाडौंका मुख्य क्षेत्रभन्दा बाहिर आनाको १५ लाखमाथिका जग्गाहरू बिक्री भइरहेको छ। ती जग्गाहरू खरिदका लागि सोधखोज हुने क्रम बढेको घरजग्गा कारोबारी शैलेन्द्र खड्काको भनाइ छ। अहिले १५ देखि २० लाख आनामा भक्तपुरको सुडाल, नगरकोट आशपास, साखुको माथिल्लो क्षेत्र, ललितपुरको चापागाउँ, लेलेलगायतका क्षेत्रमा पाइने गरेको उनले बताए।
अहिले धेरै मानिसहरू महँगोमा भन्दा सस्तो जग्गाहरू किन्नेतर्फ ध्यान दिन थालेकाले महँगा मूल्यको जग्गाको कारोबार घटेको व्यवसायीको भनाइ छ। एकातिर जग्गाको कित्ताकाट बेला बेलामा रोकिने र जग्गा किन्नेको आम्दानीसमेत घटेको हुँदो महँगोभन्दा सस्तो जग्गामा धेरैको ध्यान गएकोे हुन सक्ने घरजग्गा कारोबारी खड्काको विश्लेषण छ।