ढोरपाटन (बागलुङ)। यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन वृद्धिमा सघाएको हो।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औसा किरा प्रकोपबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तला खेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए। बसाइँसराइले रित्तिँदै गएका गाउँमा समेत राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ।
पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताए। कम मिहिनेतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित उनको भनाइ छ। यस वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए। किसानले न्यूनतम प्रतिकिलो ६५ ले बिक्री गरेको उनले बताए।
२०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ। अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा आठ लाखमा बगानै व्यापारीलाई दिएको बताए। सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ। अघिल्लो वर्ष औसा किराले झन्डै एक लाखको सुन्तला नष्ट गरी दिएको कँडेल बताउँछन्।
सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको सुनाए। फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।–रासस